
कमल । झापाको कमल गाउँपालिकामा आज लागू पदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम अन्तर्गत “प्यानल डिस्कसन इभेन्ट” गरिएको छ ।
कोशी प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना तथा स्थानीय स्काउट कार्यालय कमल गाउँपालिका र कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक व्यवस्थापनमा कमल गाउँपालिका ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयमा प्यानल डिस्कसन भएको हो ।
कमलमा रहेका सामुदायिक विद्यालयका स्काउट विध्यार्र्थी, शिक्षक, स्काउटर, गाउँपालिका उपाध्यक्ष, स्काउटका सदस्य तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा प्यानल डिस्कसन गरिएको थियो ।
लागू पदार्थ दुव्र्यसनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्न तथा युवापुस्तामा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्थानीय स्काउट परिषद सदस्य मात्रिका सुवेदीले बताउनु भयो ।
प्यानलिष्टसँग विध्यार्थीले लागू पदार्थको असर, यसको सामाजिक तथा पारिवारिक प्रभाव, युवामा पर्ने मानसिक असर र यसको रोकथामका उपायबारे विज्ञहरुबीच छलफल तथा अन्तरक्रिया गरेका थिए ।
उक्त कार्यक्रममा गाउँपलिकाका उपाध्यक्ष प्रमिला तिवारीले विद्यालय तहदेखि नै नानीबाबुहरुमा सचेतना फैलाउन सकेमा समाजमा लागू पदार्थ प्रयोग तथा दुव्र्यसन न्यूनीकरण गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
नेपाल स्काउटले पछिल्लो समय युवा लक्षित विभिन्न सामाजिक तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्ता कार्यक्रमले लागू पदार्थ दुव्र्यसन विरुद्ध जनचेतना अभिवृद्धि र नियन्त्रण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकको विश्वास छ ।


