२०८३ जेठ १४ बिहिवार , ०६:०४:१४ बजे

Sajhamanch
'

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित हुनु भएको छ।

सातवटा प्रदेशबाट चुनिएका ७ जना बैंक सञ्चालकहरु बीच अध्यक्षका लागि मतदान गरिँदा उप्रेतीले पाँच मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी डा. परितोष पौड्यालले दुई मतमात्र प्राप्त गर्नुभयो ।

बैंकको विनियम अनुसार सञ्चालक समितिमा निर्वाचित प्रदेशगत सात जना सञ्चालक मध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ। उहाँ कोशी प्रदेशमा रहेका बैंकका सदस्य सहकारी संस्थाहरुले सर्वसम्मत रूपमा सञ्चालकमा निर्वाचित गरी अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो ।

उप्रेती निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक हुनुहुन्थ्यो । उप्रेतीले यसअघि २०७० सालमा लेखा सुपरीवेक्षण समिति सदस्य तथा २०७५ र २०७९ सालमा लेखा सुपरीवेक्षण समितिको संयोजकको जिम्मेवारी सम्हालि सक्नुभएको छ ।

नेपालकै अग्रणी एवम् दोस्रो ठूलो सहकारी संस्थाका रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक उप्रेती लामो समयदेखि सो संस्थाका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको सबल नेतृत्वमा एनएमसी उत्कृष्ट सहकारीका रुपमा परिचित छ ।

राष्ट्रिय सहकारी बैंकको विभिन्न जिम्मेवारीमा १२ वर्ष बिताउनु भएका नवनिर्वाचित अध्यक्ष उप्रेतीले विभिन्न आरोह अवरोह पार गर्दै भर्खरै तंग्रिँदै गरेको बैंकको गरिमा बढाउन र सहकारीप्रतिको खराब नियतलाई चिर्न यथेष्ट योगदान गर्ने सहकारी अभियानले विश्वास लिएको बताइएको छ ।

सम्बन्धित खबर