२०८३ जेठ १४ बिहिवार , ०५:०३:३२ बजे

Sajhamanch
'

एशियाली खेलकुद छनोट : इन्डोनेशियालाई हराउँदै नेपाल सेमिफाइनलमा

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इन्डोनेशियालाई ४ विकेटले हरायो ।

इन्डोनेशियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका कप्तान इन्दु बर्माले नटआउट ४२, सोनी पाख्रिनले २९, सीता राना मगरले ६ बलमा नटआउट १३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेशियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनायो । नेपालका मनिषा उपाध्यायले २, रिया शर्माले १ विकेट लिए ।

समूह ‘बी बाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा इन्डोनेशिया बाहिरिएको छ । यस्तै समूह ‘ए’ बाट थाइल्यान्ड समूह विजेता र मलेशिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । यो समूहबाट हङकङ बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा मलेशियासँग खेल्नेछ । यो खेल जितेमा नेपाल एशियाली खेलकुदमा छनोट हुनेछ । यो खेलमा पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ ।

प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एशियाली खेलकुदका लागि छनोट हुनेछन् ।

सम्बन्धित खबर