
कमल । झापाको कमल गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको छ ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै कमल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको बताइएको छ ।
बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कमल गाउँपालिकाका सातै वडामा सफलतापूर्वक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकोले पनि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सम्भव भएको हो ।
गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासम्म ल्याउनका लागि योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको छ ।
गाउँपालिकाले सञ्चालन गरेका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुर्याउने पालिका भित्र सञ्चालनमा रहेका ८ वटै आधारभूत स्वास्थ्य केन्द्र, सातवटै वडा तथा २४ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई प्रसंशा पत्र प्रदान गरी सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले हामी सबैको साझा प्रयासबाट मात्र आजका दिनमा पालिकालाई पूर्ण खोप अभियानलाई दिगो बनाउन सफल भएको बताउनु भयो ।
पालिकाका सातै वडाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको अवस्था स्वयममा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताइएको छ ।
उक्त कार्यले आगामी दिनमा गाउँपालिकालाई बालमैत्री, सुरक्षित र स्वस्थ समाज निर्माणतर्फ थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


