
काठमाडौं । देशभर ३३८ पालिकाले भू–उपयोग वर्गीकरण सम्पन्न गरेका छन् । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत विवरण सकाएका हुन् ।
१६९ पालिकाले नक्सा अद्यावधिक र कित्तागत विवरण सङ्कलन गरेका छन् भने १३४ पालिकाले नक्सा अद्यावधिक गर्दैछन् । १५ पालिकाले कृषि क्षेत्रको मापदण्डअनुसार विवरण तयार पारेका छन् भने ५० पालिका आधार तथा मापदण्ड तयारीमा छन् । तर ४७ पालिकाले भने अझै काम शुरू नै गर्न सकेका छैनन् ।
भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टका अनुसार भू–उपयोग ऐन र नियमअन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ ।
यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषियोग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ ।
पालिकाहरूलाई भू–उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ ।


