२०८३ जेठ ६ बुधवार , ०५:४५:२७ बजे

Sajhamanch
'

चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २० भन्दा धेरै सम्झौतामा हस्ताक्षर

बुधवार, जेठ ६, २०८३

झापा । चीन र रुसले व्यापार र प्रविधिसम्बन्धी २० भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन २० भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । दुई नेताले बहु–ध्रुवीय विश्व व्यवस्थाको घोषणापत्रमा पनि हस्ताक्षर गर्नुभएको छ ।

रुसी राष्ट्रपति पुटिनको दुई दिने चीन भ्रमणका क्रममा बेइजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो ।

यस्तै बेइजिङमा वार्ताका क्रममा सी र पुटिनले दुई देशबीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ । यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको समयसीमा सार्वजनिक भएको छैन ।

चिनियाँ र रुसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्धलगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेइजिङ पुग्नुभएको हो ।

भेटमा चिनियाँ राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । यस्तै रुसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्चस्तरमा पुगेको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर