
काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री वितरण गर्ने तयारी थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको सूचना उल्लेख गर्दै सरकारको नीति अनुसार स्वदेशमै उत्पादित इथानोल खरिद गर्न लागेको जानकारी दिएको हो ।
यसका लागि निगमले खेर जाने कृषि तथा अन्य जैविक पदार्थ प्रयोग गरी इथानोल उत्पादन र आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकलाई आवेदन दिन आह्वान गरेको छ ।
निगमले इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थको विस्तृत सूची नै सार्वजनिक गरेको छ । यस अन्तर्गत चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस) र नेपियर घाँसदेखि लिएर पराल, मकैको ढोड र गहुँको छ्वालीजस्ता कृषि अवशेषलाई समेत समावेश गरिएको छ ।
त्यसैगरी खेर जाने अन्य कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), सिमल तरुल (कास्साभा) र खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने गरी सडेगलेका अन्नलाई पनि इथानोलको कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।
सरकारले २८ फागुन २०८२ मा राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ अनुसार तयारी अगाडि बढाइएको हो । आदेशमा तोकिएको गुणस्तर र विधि पूरा गर्ने उत्पादकहरूबाट निगमले इथानोल खरिद गर्ने छ ।
यस नीतिले खेर गइरहेका कृषिजन्य वस्तु सदुपयोग गरी आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास निगमले लिएको छ ।
यद्यपि, खाद्यान्नका रूपमा प्रयोग हुने अन्नलाई भने इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने सूचनामा स्पष्ट पारिएको छ ।
के छ इथानोल मिश्रण सम्बन्धी आदेशमा ?
‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ मार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोत उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ ।
आदेश अनुसार आयल निगमले उपलब्धता अनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्ने छ । आदेशमा आवश्यकता अनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्ने छ र उत्पादन गरिएको इथानोल आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने छ ।
निगमले खरिद गर्नुअघि प्रत्येक खेपको गुणस्तर परीक्षण गर्ने छ भने उत्पादक उद्योग आफैंले पनि गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला स्थापना गर्नुपर्ने दायित्व तोकिएको छ ।
गुणस्तरहीन इथानोल खरिद–बिक्री पूर्णत: निरुत्साहित गरिएको छ । साथै, इथानोल एक ज्वलनशील र संवेदनशील पदार्थ भएकाले यसको उत्पादन, भण्डारण, ढुवानी र मिश्रणका लागि आवश्यक पर्ने सुरक्षा मापदण्ड मन्त्रालयले छुट्टै बनाएर लागु गर्ने छ ।
आयल निगमले इथानोल खरिदका लागि उद्योगहरूसँग सम्झौता गर्ने छ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्ने छ ।


