२०८३ जेठ ६ बुधवार , १२:२२:४७ बजे

Sajhamanch
'

कोशी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै, खेलकुद ऐन संशोधन अध्यादेश टेबुल गरिने

बुधवार, जेठ ६, २०८३

विराटनगर । कोशी प्रदेश सभाको नवौँ तथा बजेट अधिवेशन बुधबार (आज) देखि सुरु हुँदैछ।

प्रदेश सरकार र प्रदेश सभा सचिवालयका अनुसार अपरान्ह ३ बजेका लागि आह्वान गरिएको उक्त बैठकका लागि मुख्य गरी तीनवटा कार्यसूची तय गरिएको छ।

सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार अधिवेशनको सुरुवातमा सबैभन्दा पहिले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर जानकारी गराइनेछ।

त्यसपछि बैठकमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूका तर्फबाट शुभकामना तथा समसामयिक विषयमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ।

बजेट अधिवेशनको पहिलो दिनको अन्तिम कार्यसूचीका रूपमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको ‘प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश’ टेबुल हुनेछ।

गत वैशाख २३ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको उक्त अध्यादेश ६० दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेकाले आजै प्रदेश सभामा टेबुल गर्न लागिएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो।

यसैगरी, बिहीबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सचिवालयको तयारी छ।

भौतिक पूर्वाधारको अभावका कारण यो अधिवेशन पनि अस्थायी रूपमै सञ्चालन हुँदैछ। ‘जेन जी’ आन्दोलनका क्रममा विराटनगरको देवकोटा चोकस्थित मुख्य प्रदेश सभा भवन ध्वस्त भएपछि बैठक सञ्चालनमा समस्या आउँदै आएको छ।

यसअघि मोरङको कटहरी गाउँपालिकास्थित महेशपुरमा अस्थायी रूपमा सभा सारिएको भए पनि त्यहाँ बैठक बस्न नसकेपछि विराटनगरकै वीरेन्द्र सभागृहलाई विकल्प बनाइएको हो।

गत वर्षको चैत २३ गते सम्पन्न हिउँदे अधिवेशनको अन्तिम बैठक पनि यसै सभागृहमै सम्पन्न भएको थियो।

सम्बन्धित खबर