२०८३ जेठ ५ मङ्गलवार , १०:१४:४३ बजे

Sajhamanch
'

कमल नगर अस्पतालमा आँखा उपचार सेवा आरम्भ

मङ्गलवार, जेठ ५, २०८३

कमल । झापाको कमल गाउँपालिकाद्वारा सञ्चालित कमल नगर अस्पतालमा आँखा उपचार सेवा आरम्भ गरिएको छ ।

गाउँपालिका र मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा आजबाट कमल नगर अस्पतालमा दैनिक आँखा स्वास्थ्य ओपिडी सेवा सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आँखा उपचार सेवा भवनको उद्घाटन गरेसँगै आँखा स्वास्थ्य परीक्षणको सेवा पनि शुभारम्भ भएको हो ।

कमलबासी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको अस्पतालमा आजबाट आँखाको स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त अवसरमा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष राईले आफ्नै पालिकाको अस्पतालमा सबै किसिमका उपचार सेवा उपलब्ध गराउन प्रयासरत रहेको बताउनु भयो ।

यसअघि अस्पतालमा दन्त उपचार सेवा थाप गरिएकोमा आजबाट आँखा परीक्षण सेवासमेत सुरु गरिएकोले यसबाट आम पालिकाबासीलाई धेरै फाइदा पुग्ने अध्यक्ष राईको भनाई थियो ।

स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन अस्पतालको पूर्वाधार विकास, उपकरण व्यवस्थापन, सेवा विस्तार तथा दक्ष जनशक्ति सुदृढीकरणमा निरन्तर काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर