२०८३ जेठ ५ मङ्गलवार , ०४:००:४४ बजे

Sajhamanch
'

सांसदले सुनाए किसानका पीडा : ‘आलुको भात’देखि, ‘प्रेम आचार्य पथ’सम्म

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले किसानका समस्या, कृषि उत्पादनको घट्दो मूल्य, मल अभाव, सिंचाइ संकट र ग्रामीण सडकको दुरावस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद नरेन्द्र कुमार गुप्ताले खेतीको समय नजिकिँदै गर्दा पनि मलखादको पर्याप्त व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले तराई–मधेशको यातायात पहुँच विस्तारका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग सरकारले बजेट प्राथमिकतामा नराखेको विषय पनि उठाउनु भयो ।

सांसद निराशा चौधरी डगौराले कृषिक्षेत्र दिनप्रतिदिन संकटतर्फ धकेलिँदै गएको बताउनु भयो । किसानसँग लालपूर्जा भए पनि सहज रूपमा कृषि ऋण नपाउने समस्या उठाउनु भयो । साथै मल, बिउ, सिंचाइ र बजार व्यवस्थापनको अभावले उत्पादन लागत बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले किसानले उत्पादनको उचित मूल्य नपाउँदा कृषिप्रति युवाको आकर्षण घट्दै गएको बताउँदै कञ्चनपुर–१ मा डुबान, कटान र पूर्वाधार समस्या दीर्घ पीडाका रूपमा रहेको पनि बताउनु भयो ।

‘नेपाली किसान प्रेम आचार्यकै पथमा हिँड्नुपर्ने हो ?’

सांसद प्रकाश पाठकले खेतीको लागत अत्यधिक बढेको तर उत्पादनको मूल्य घटेको भन्दै किसानको अवस्था चिन्ताजनक बनेको बताउनु भयो । उहाँका अनुसार खेत जोत्न प्रतिघण्टा १८ सय रुपैयाँबाट ३ हजार रुपैयाँ पुगेको छ भने बिउको मूल्य पनि बढेको छ । मल अभाव र सिंचाइ समस्या उस्तै रहेको अवस्थामा मकैको मूल्य प्रतिकेजी ३५ रुपैयाँबाट २८ रुपैयाँमा झरेको उहाँले सुनाउनु भयो ।

समर्थन मूल्यमा किसानले कहिल्यै उपज बेच्न नपाएको भन्दै उहाँले राज्यले खरिद गर्ने क्षमता देखाउन नसकेको आरोप लगाउनु भयो । खुला सिमानाका कारण विषादीयुक्त विदेशी कृषि उपजले नेपाली बजार कब्जा गरेको र घरेलु उत्पादन संकटमा परेको उहाँको भनाइ थियो ।

‘खुला सिमानाका कारण विषादीयुक्त उपजले नेपाली बजार कब्जा गरिसक्यो । उपभोक्ता वस्तुको नाममा विष खाइरहेका छन् । घरेलु उत्पादन भने गाईको खोले बनेको छ,’ उहाँले प्रश्न गर्नुभयो, ‘अब नेपाली किसान प्रेम आचार्यकै पथमा हिँड्नुपर्ने हो ?’

प्रेम आचार्यले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका थिए । आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्दै ‘आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेको’ र त्यसका लागि ‘सरकारी नीतिहरू दोषी रहेको’ जनाएका थिए ।

आलुकै भात, आलुकै तरकारी, आलुकै अचार खानुपर्ने अवस्था

अर्का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका कैलाश, राक्सिराङ, थाहा, इन्द्रसरोबर, भीमफेदी, गढी र मनहरी क्षेत्रको सडक अवस्था अत्यन्त दयनीय रहेको बताउनु भयो । सडक र सञ्चार समस्याका कारण बिरामी हुँदा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था रहेको र उपचार नपाएर दुई जनाको ज्यान गएको घटना सुनाउनु भयो ।

उहाँले थाहामा उत्पादन भएको आलुको मूल्य प्रतिकिलो १० रुपैयाँमा झरेको तर सडकको खराब अवस्थाका कारण काठमाडौंसम्म ल्याउन नसकिएको बताउनु भयो ।

सडक समस्याका कारण स्थानीय उत्पादन स्थानीय स्तरमै सीमित भएको भन्दै उहाँले भन्नुभयो, ‘यो यस्तो तरिकाले त हरिबहादुरले भनेको जस्तो आलुको भात, आलुकै अचार, आलुकै तरकारी खानुपर्ने अवस्था थाहाको छ ।’

सरकारले अविलम्ब सम्पूर्ण ठेक्कामा गएका सडकका ठेकेदारहरुलाई बोलाएर भौतिक प्रगति लिन माग समेत गर्नुभयो ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको डीपीआर परिवर्तन गर्न माग

सांसद नितिमा भण्डारी कार्कीले सर्लाहीको मुख्य समस्या सिंचाइ रहेको बताउनु भयो । सुनकोशी–मरिन डाइभर्सन आयोजनाबाट जिल्लाको सिंचाइ समस्या समाधान हुने अपेक्षा रहे पनि हालको संरचनाले सर्लाही–१ को उत्तरी र दक्षिणी क्षेत्रमा रहेका धेरै खेतीयोग्य जमिन सिंचाइबाट वञ्चित हुने अवस्था देखिएको उहाँको भनाइ थियो ।

उहाँले डीपीआर परिवर्तन गर्न वा सिन्धुलीको कपिलाकोटबाट शाखा नहर निर्माणका लागि तत्काल योजना तयार गरी काम अघि बढाउन सरकारसँग माग गर्नुभयो ।

कपिलाकोटबाट लालबन्दीको माथिल्लो क्षेत्रमा पानी पुर्‍याउन सके सुक्खाग्रस्त चुरे क्षेत्र रिचार्ज हुने तथा सर्लाहीसँगै महोत्तरीका किसानसमेत लाभान्वित हुने उहाँको भनाइ थियो । यसबाट कृषि उत्पादन वृद्धि हुनुका साथै युवाको विदेश पलायन रोक्न मद्दत पुग्ने उहाँले बताउनु भयोे ।

सम्बन्धित खबर