
काठमाडौं । कानुन व्यवसायीहरुले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर आफूहरुले लिएर गएको रिटको सम्बोधन नभएको गुनासो गरेका छन् ।
अहिले कामु प्रधानन्यायाधीश मल्ल र कानुन व्यवसायीबीच भेट भइरहेको छ ।
उनीहरुले मुख्य रजिषट्रार विमल पौडेल, मुद्दा शाखाका अन्य कर्मचारीहरुले अलमल्याएको गुनासो गरेका छन् ।
यसअघि संवैधानिक परिषद बैठकले चौथो बरियताका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरुले रिट दायर गर्न खोजेका थिए । तर सर्वोच्च अदालतले सो रिट दरपीठ गरिदिएको थियो । रिट दरपीठ विरुद्ध पनि रिट दायर गर्न खोज्दा सर्वोच्चले अस्वीकार गरेको थियो ।
अन्य विषयहरुमा पनि रिट दर्ता पनि नगर्ने र दरपीठ पनि नगर्ने गरेर अलमल्याएको गुनासो कानुन व्यवसायीहरुको छ । भेटमा संवैधानिक परिषदको निर्णयविरुद्धको रिट र सरकारले ल्याएका अध्यादेश लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
प्रधानन्यायाधीशमा सिफारि मनोज शर्मा भने इजलासमा बसेका छैनन् । उनी संसदीय सुनुवाइको तयारी गर्नुपर्ने भन्दै इजलासमा नबसेका हुन् ।


