२०८३ जेठ ४ सोमवार , ०१:०१:५८ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

सोमवार, जेठ ४, २०८३

झापा । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफ सम्भावना कायमै राखेको छ ।

हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए । यो जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ ।

यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) आईपीएलको प्लेअफमा पुगेको छ । धर्मशालामा भएको खेलमा पञ्जाब किंग्सलाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १९९ रनमै सीमित भयो ।

आईपीएलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा बेलुकी पौने ८ बजे हुनेछ ।

सम्बन्धित खबर