
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर डङ्गोल विश्व प्रसिद्ध ‘कान्स फिल्म फेस्टिबल’ मा सहभागी हुन फ्रान्स जानु हुने भएको छ ।
महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिबल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले उहाँ फ्रान्स जान लाग्नुभएको हो ।
भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै कार्यवाहक मेयर डङ्गोलले महानगरले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेन्डा रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय महोत्सवको पूर्वतयारी स्वरूप महानगरले स्थानीयस्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’ समेत आयोजना गर्ने तयारी गरेको छ ।
डङ्गोलका अनुसार यो कार्यक्रम पूर्णरूपमा समुदायमा आधारित हुनेछ । यस अभियानले टोलस्तरमा पुगेर चलचित्र, सङ्गीत तथा समग्र सिर्जनात्मक उद्योगसँग सम्बन्धित विविध विषयमा विमर्श गर्ने र महोत्सवका रूपमा वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ ।
यस्तै आफ्नो वैदेशिक भ्रमणको अवधिभरका लागि डङ्गोलले कार्यवाहकको जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उहाँले ज्येष्ठताका आधारमा वडाध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिनुभएको हो ।


