
खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङले ६५ वर्ष पूरा गरेका पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने भएको छ । २५ वर्ष पत्रकारिता गरी ६५ वर्ष पूरा भएकालाई अब पेन्सनको व्यवस्था गर्ने भएको हो ।
सुदुरपूर्वको झापामा नेपाल पत्रकार महासंघले तीन वर्षदेखि ज्येष्ठ पत्रकारहरुलाई वार्षिकरुपमा पेन्सन उपलब्ध गराउँदै आएको यथार्थकाबीच खोटाङ दोस्रो हुने भएको छ ।
कृष्ण आचार्यको संयोजकत्वमा बनेको मस्यौदा समितिले ज्येष्ठ नागरिक पेन्सन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरी शनिबार नेपाल पत्रकार महासंघ खोटाङ शाखालाई बुझाएको छ । उक्त मस्यौदामा कम्तीमा १० लाखको अक्षयकोषबाट मूल धन नमासिने गरी त्यसको ब्याजबापत आउने रकमबाट प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँका दरले पेन्सनको व्यवस्था गर्ने उल्लेख छ ।
जिल्लामै रहेर काम गरेका पत्रकारलाई मात्र पेन्सन दिइने मस्यौदामा उल्लेख छ । कुनै राजनीतिक दल वा पेसागत संस्थाको कार्यकारी पदमा बहाल रहेको व्यक्ति, सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालो सूचीमा परेको व्यक्ति, नैतिक पतन ठहरिने गरी फौजदारी अपराधमा दोषी ठहर भएकाले उक्त पेन्सन नपाउने मस्यौदामा उल्लेख छ ।
आगामी जेठ ९ गते हुने शाखाको साधारणसभाले उक्त मस्यौदालाई पारित गरी कार्यान्वयन गर्ने नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताए । ‘ज्येष्ठ पत्रकार पेन्सन मस्यौदा पेस भएको छ, आगामी जेठ ९ गते हुने शाखाको साधारणसभाले पारित गरेपछि लागू हुनेछ,’ आचार्यले भने ।


