२०८३ जेठ ३ आइतवार , ११:४१:४६ बजे

Sajhamanch
'

आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

आइतवार, जेठ ३, २०८३

काठमाडौं । सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भैरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह पनि गर्नुभएको छ ।

पछिल्लो पटक भारतले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको बैशाख ३० देखि निर्यातमा प्रतिबन्ध लगाएको छ । यसतर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

अहिले सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग झण्डै आठ महिनाको माग धान्ने अवस्था छ ।

यसअघि नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको थियो । संघका अनुसार अहिलेसम्म झण्डै १ लाख ८ हजार मेट्रिक टन चिनी उद्योगमै मौज्दात रहेको छ । त्यस्तै बजारमा झण्डै २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ ।

बजारमा भाउ बढ्न नदिन मन्त्रालयले अनुगमनसहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताउनुभयो । चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेको उहाँको भनाइ छ ।

कृषि मन्त्रालयले उन्नत जातका उखुमार्फत उत्पादनको दक्षता वृद्धि, नवप्रवर्तन, आधुिनक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ । सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो ।