२०८३ वैशाख ३० बुधवार , १०:१४:४० बजे

Sajhamanch
'

भारतद्वारा सुनचाँदीको आयात महशुलमा भारी बृद्धि

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं। भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार महसुलमा भारी वृद्धि गरेको छ।

बढ्दो व्यापार घाटा कम गर्न र डलरको तुलनामा कमजोर भइरहेको भारतीय रुपैयाँलाई स्थिर बनाउने उद्देश्यले सरकारले बुधबार यो निर्णय गरेको हो। जसअनुसार हालको ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ।

नयाँ व्यवस्थाअनुसार, सरकारले १० प्रतिशत आधारभूत भन्सार महसुल र ५ प्रतिशत कृषि पूर्वाधार तथा विकास सेस गरी कुल १५ प्रतिशत कर लाग्ने छ। यसअघि सन् २०२४ को मध्यतिर सरकारले यो महसुल घटाएर ६ प्रतिशतमा झारेको थियो।

हालै भारतीय रुपैयाँ डलरको तुलनामा ९५.५० को ऐतिहासिक न्यून विन्दुमा पुगेको छ। भारत विश्वको दोस्रो ठूलो सुन उपभोक्ता राष्ट्र हो भने यसले आफ्नो आवश्यकताको झण्डै ९९ प्रतिशत सुन विदेशबाट आयात गर्छ। महँगो आयातले विदेशी मुद्रा भण्डारमा दबाब परेकाले आयात निरुत्साहित गर्न सरकारले कर बढाएको हो।

भन्सार वृद्धिको निर्णय आउनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार दुई दिन देशवासीलाई ‘एक वर्षसम्म सुनका गहना खरिद नगर्न’ अपील गरेका थिए। विदेशी मुद्रा जोगाउनु राष्ट्रभक्ति भएको उल्लेख गर्दै उनले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीको अपील र कर वृद्धिको समाचारसँगै भारतका ठूला ज्वेलरी कम्पनीहरू टाइटन, कल्याण ज्वेलर्स र सेन्को गोल्डको शेयर मूल्यमा ७ देखि १० प्रतिशतसम्मको गिरावट आएको छ।

यसैबीच व्यवसायीहरूले भने भन्सार महसुल बढाउँदा सुनको तस्करी बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्। यसअघि करको दर कम हुँदा तस्करीमा कमी आएको थियो। महसुल वृद्धिसँगै भारतमा अब सुन र चाँदीको मूल्य अझै महँगो हुने निश्चित भएको छ।

सम्बन्धित खबर