२०८३ वैशाख २८ सोमवार , १२:१७:३८ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

सोमवार, वैशाख २८, २०८३

झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्समाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको १६७ रनको लक्ष्य बेङ्गलुरुले ८ विकेट गुमाएर पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ५७ रन बनाउँदा बलिङमा बेङ्गलुरुका भुवनेश्वर कुमारले ४ विकेट लिए । जितसँगै बेङ्गलुरु १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

त्यसअघि हिजै चेन्नई सुपर किङ्ग्ससँग पाँच विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । चेन्नईमा भएको खेलमा लखनऊले दिएको २०४ रनको लक्ष्य चेन्नईले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गरेको छ ।

चेन्नईका उर्विल पटेलले ६५ रनको इनिङ खेले । लखनऊका दिग्वेश राठी र शाहबाज अहमदले समान दुई विकेट लिँदा आवेश खानले एक विकेट लिए । जितपछि ११ खेलमा १२ अंक जोडेको चेन्नईले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ । हारसँगै समान खेलमा ६ अंक भएको लखनऊको भने अगाडि बढ्ने सम्भावना सकिएको छ ।

आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।