
काठमाडौं । घरेलु टी–२० क्रिकेट लिग ‘बिग बाश लिग’ (बीबीएल) लाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ ।
कोड स्पोर्ट्सको प्रतिवेदनअनुसार अस्ट्रेलियाका टेस्ट र एकदिवसीय कप्तान प्याट कमिन्ससहित ५ जना खेलाडीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।
क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा वा ‘नो–अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) मार्फत विदेशी फ्रेन्चाइज लिगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ ।
दक्षिण अफ्रिकाको ‘एसए टी–२०’ र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘आईएल टी–२०’ जस्ता लिगहरूले खेलाडीहरूलाई आकर्षक सम्झौताहरू प्रदान गरिरहेका छन् जसले गर्दा केही अस्ट्रेलियाली खेलाडीहरूलाई उनीहरूको आर्थिक भविष्य कहाँ साँच्चै सुरक्षित छ भन्नेबारेमा पुनर्विचार गर्न बाध्य पारिरहेको विश्वास गरिन्छ ।
क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झन्डै १२ मिलियन अस्ट्रेलियन डलर बराबरको ३ वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ । यो प्रस्तावबाट धेरै खेलाडीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ ।
लिगभित्रको तलब असमानताबारे छलफल गर्न गएको अक्टोबरमा बीबीएल खेलिरहेका १२ जना खेलाडीले ह्वाट्सएप ग्रुप नै बनाएका प्रतिवेदनको दाबी छ ।


