२०८३ वैशाख २५ शुक्रवार , ०७:०३:५६ बजे

Sajhamanch
'

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो । तर, अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका प्रमुख अशोक साहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा केही कमी आएको बताउनुभयो । अहिले डिजेल दैनिक औसतमा तीन हजार ५०० किलोलिटर बिक्री हुँदै आइरहेको छ भने पेट्रोल दैनिक एक हजारदेखि एक हजार पाँच किलोलिटर औसतमा बिक्री हुँदै आइरहेको उहाँको भनाइ छ ।

पेट्रोल र डिजेलको मूल्य बढी भएकाले पनि स्वाभाविक रूपमा बिक्रीमा कमी आएको उहाँको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासङ्घले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दाबी गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले पुललगायत संरचनामा भने महँगो मूल्यको इन्धन प्रयोग गर्दै आइरहेको बताउनुभयो ।

उहाँका अनुसार केही समय अघिसम्म प्रतिकिलोग्राम ८० रुपैयाँमा पाइने बिटुमिन अहिले करिब प्रतिकिलोग्राम १५५ भन्दा माथि पुगेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा पाँचैथरिका एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँ मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो ।

सम्बन्धित खबर