काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ।
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक वैशाख २८ गते दिउँसो ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो।
उक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनु भएको छ।
यस्तै मन्त्रिपरिषद्ले विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय महासन्धि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं.२९ संसद्मा पेश गर्न अनुमति दिएको हो।
यस्तै, श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९४७ (C081–Labour Inspection Convention, 1947) अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न पनि स्वीकृति प्रदान गरिएको छ।



