
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्तिवार्ता नभएको भन्दै हर्मुज मार्ग खुलाउने अभियान तत्कालका लागि रोकेको घोषणा गर्नुभएको छ ।
योसँगै हर्मुज क्षेत्रमा अमेरिकी नाकाबन्दी यथावत् रहने भएको छ । सामाजिक सञ्जाल ट्रुथ शोसलमार्फत यस्तो घोषणा गर्नुभएको हो । यस विषयमा इरानले भने कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि ट्रम्पले अमेरिकी सैन्य र आर्थिक दबाबका कारण इरान वार्तामा आउन बाध्य भएको बताउनु भएको थियो ।
यसैबीच, अमेरिकी सेनाले केही इरानी डुङ्गा, क्रुज मिसाइल र ड्रोन नष्ट गरेको दाबी गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)ले इरानबाट आएको अर्को मिसाइल र ड्रोन आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ ।
यसअघि पनि युएईले इरानी मिसाइल रोकेको दाबी गरेको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले पनि इरानी नियन्त्रण क्षेत्र विस्तार गरिएको नयाँ नक्सा सार्वजनिक गर्दै तोकिएको मार्गमै चल्न चेतावनी दिएको छ, अन्यथा ‘निर्णायक प्रतिक्रिया’ दिइने जनाएको छ ।


