
काठमाडौं । बाढी पहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालनमा आएका छन् ।
कान्तिलोकपथको ललितपुर बागमती गाउँपालिका–३ भालुखोला क्षेत्र, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडक खण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारी ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भर्याङ डाँडाको कान्तिलोकपथ सडक खण्डमा गाडी चल्न थालेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
तर बीपी राजमार्ग रातमा बन्द गरिएको छ । अर्को सूचना नआउन्जेल बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको हो । यस्तै इलामको इलाम रोङ गाउँपालिका-६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडक, लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङको मध्य पहाडी लोकमार्ग बन्द रहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।



