
काठमाडौं । वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध केही मुख्य राजमार्गहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख १६ गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेको बेनी–जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङको मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।
वैशाख १६ गतेको पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी–२ कोदारीको अरनिको राजमार्ग भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।


