
विराटनगर । जेन्जी आन्दोलनपछि बन्द रहेको मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प अझै खुल्न सकेको छैन । सशस्त्र प्रहरी बलको उक्त सुरक्षा बेस क्याम्प आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएपछि बन्द भएको थियो ।
आन्दोलनपछि देशभर विभिन्न प्रहरी चौकी तथा सशस्त्र बेस क्याम्पहरू पुनर्निर्माण भई सञ्चालनमा आए पनि उक्त क्याम्प भने अझै सञ्चालनमा आउन सकेको छैन ।
यति लामो समससम्म क्याम्प सञ्चालन नभएकोमा स्थानीय र भुटानी शरणार्थी समुदायले गुनासो व्यक्त गरेका छन् । बारम्बार अनुरोध र ध्यानाकर्षण गराए पनि राज्यले यस क्षेत्रप्रति बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
२०६४ सालमा स्थापना भएको उक्त क्याम्पमा करिब १५ जना सशस्त्र प्रहरी खटिने गरेका थिए । क्याम्प रहँदा यस क्षेत्रमा चोरी, झै–झगडा, सामाजिक विवाद तथा लागुऔषधसम्बन्धी गतिविधिहरू नियन्त्रणमा रहेको स्थानीयको भनाइ छ । क्याम्प बन्द भएपछि अवस्था असहज बन्दै गएको स्थानीयको भनाइ छ ।
पछिल्लो समय क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएको, लागुऔषध प्रयोग तथा ओसारपसारसम्बन्धी समस्या विस्तार हुँदै गएको र सामाजिक असुरक्षा बढेको उनीहरू बताउँछन् । यही कारण क्याम्प आसपास बसोबास गर्ने भुटानी शरणार्थी समुदाय त्रासमा रहेको उनीहरूको गुनासो छ ।
स्थानीयका अनुसार क्याम्प रहेको क्षेत्र भौगोलिक रूपमा पनि संवेदनशील छ । खुला बस्ती संरचना, सीमावर्ती आवागमनको प्रभाव तथा निगरानीको कमीका कारण सुरक्षा जोखिम थपिएको उनीहरूको भनाइ छ ।
स्थानीयवासी र शरणार्थी समुदायले क्याम्प पुनःस्थापनाका लागि जिल्ला प्रशासन कार्यालयदेखि सशस्त्र प्रहरी मुख्यालयसम्म पटक–पटक पहल गरेका छन् । तर अन्य स्थानमा जस्तै पुनर्निर्माणपछि सुरक्षा निकाय फर्किए पनि यहाँ भने कुनै ठोस निर्णय वा स्थायी व्यवस्था नहुँदा निराशा बढेको उनीहरूको गुनासो छ ।
भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पका सचिव करन राईले सशस्त्र प्रहरी पुनः फर्किएर बस्ने व्यवस्था भए क्याम्प पुनर्निर्माण तथा मर्मतसम्बन्धी सम्पूर्ण खर्च समुदाय आफैंले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । समुदायले राज्यसँग तत्काल सुरक्षा उपस्थिति पुनःस्थापना गर्न र स्थायी समाधान गर्न आग्रह गरेको छ ।


