२०८३ वैशाख १० बिहिवार , ०१:४४:१८ बजे

Sajhamanch
'

बढ्दै गर्मीको पारो, तराईमा तातो लहरको चेतावनी

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं । केही दिनतया तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावित भएको छ ।

आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर चल्ने पूर्वानुमान छ ।

विभागका अनुसार आज कर्णाली प्रदेशबाहेक ६ वटै प्रदेशका तराई तथा उपत्यकाका खोँचहरुमा तातो दिन हुने प्रक्षेपण छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहरको पनि सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागले तातो लहरले स्वास्थ्यमा असर पर्ने भएकाले घामबाट जोगिन र अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

यस्तो छ तापक्रम पूर्वानुमान

विभागले आज बिहान १९ स्थानका अधिकतम र न्यूनतम तापक्रमको पूर्वानुमान सार्वजनिक गरेको छ । त्यसमध्ये ५ स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।

बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवाको तापक्रम भने ४० डिग्री सेल्सियस नाघ्नसक्ने अनुमान छ । आज दिउँसो भैरहवाको अधिकतम तापक्रम ४०–४२ को बीच रहने अनुमान विभागको छ । यसैगरी नेपालगञ्जको अधिकतम तापक्रम ३९ देखि ४१ को बीचमा रहने अनुमान गरिएको छ ।

धनुषाको जनकपुर, डोटीको दिपायल र कैलालीको धनगढीमा आज दिउँसो अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।

बाराको सिमराको अधिकतम तापक्रम भने ३६ देखि ३८ डिग्री सेल्सियस रहनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार शनिबार राति भने देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भाग आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरेको छ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ ।

सम्बन्धित खबर