
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा साबुन उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । स्थानीयको आयआर्जनको स्रोतका रुपमा स्थापित गर्दै आत्मनिर्भर बन्ने योजनासहित साबुन उद्योग सञ्चालनको तयारी गरिएको हो ।
वडावासी नागरिकले साबुन उद्योग सञ्चालन गर्ने प्रक्रिया सुरु गरेका साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम्बूले जानकारी दिनुभयो । सामूहिक रुपमा उद्योग सञ्चालन गरेर साबुन उत्पादन गर्नेगरी स्थानीयले संस्था दर्तासहित आवश्यक प्रक्रिया सुरु गरेका वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
साबुन उद्योग सञ्चालन गरेर राम्रो आयआर्जन गर्न सकिने सम्भावना देखेपछि स्थानीय नागरिक उद्योग खोल्नका लागि अग्रसर देखिएका छन् । वडा कार्यालयले पनि सीप सिक्न र सिकेको सीपलाई व्यवहारमा परिणत गर्दै उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्न चाहाने नागरिकलाई सहयोग गर्दै आएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
उहाँका अनुसार साबुन उद्योग सञ्चालनका लागि वडाले वडावासी नागरिकलाई ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्षभित्रै साबुन उद्योग सञ्चालन गर्ने योजनामा स्थानीयको ५० प्रतिशत साझोदारी रहनेगरी १५ लाख रुपियाँ बजेट रहेको पनि उहाँले बताउनुभयो ।
सोही योजना कार्यान्वयनको क्रमसँगै साबुन उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको पनि वडाध्यष लिम्बूले बताउनुभयो । उहाँका अनुसार साबुन उद्योग सञ्चालनको प्रक्रिया सुरु भएपछि वडा कार्यालयले स्थानीयलाई तालिमसमेत प्रदान गरेको छ । भर्खरै तीन दिने साबुन बनाउने तालिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
तालिममा लुगा धुने साबुन, नुहाउने साबुन र सरफ बनाउन सिकाइएको थियो । यता तालिममा ३० जनालाई सहभागी गराउने योजना भए पनि इच्छुक सबैलाई समावेश गराउँदा सहभागीको सङ्ख्या ६० भन्दा बढी भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार वडाबाट विनियोजित छ लाख ५० हजार रुपियाँ बजेट खर्च गरेर तीन दिने साबुन बनाउने आधारभूत तालिम सञ्चालन गरिएको छ ।


