२०८३ वैशाख ९ बुधवार , ११:४७:०१ बजे

Sajhamanch
'

बुट्टाबारी युनाइटेड फाइनलमा प्रवेश

बुधवार, वैशाख ९, २०८३

बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेड चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीले उपाधि नजिकको यात्रा तय गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा बुट्टाबारीका सनिल लामा र बिशाल थिङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५२औं मिनेटमा सनिल लामाले गोल गर्दै बुट्टाबारीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दबाबमा परेको ब्रदरहुडले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । खेलको अतिरिक्त समयमा बिशाल थिङले अर्को गोल थपेपछि बुट्टाबारीले २–० को अग्रता बनाउँदै जित सुनिश्चित गर्‍यो ।

बुट्टाबारीका लागि पहिलो गोल गरेका सनिल लामा ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र टाइटल स्पोन्सर एनीका सञ्चालक सन्तोष थ्रोपाले पुरस्कार प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनलमा धरानको फेयर फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल वैशाख १२ गते हुनेछ ।

सम्बन्धित खबर