२०८३ वैशाख ८ मङ्गलवार , ०४:४९:४६ बजे

Sajhamanch
'

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

मङ्गलवार, वैशाख ८, २०८३

विराटनगर । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर)सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।

भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने मियाँ भाग्न खोजेका थिए । सो पछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।

हवाइ फायर गरेपछि पक्राउ परेका मियाँको साथबाट प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर बरामद भएको थियो ।

प्लास्टिकसहित ब्राउनसुगरको करिब तौल ५१३ ग्राम थियो ।

प्लास्टिक बाहेक ४४७ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मियाँ लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर