
काठमाडौं । दक्षिण एशियामै सबैभन्दा महंगो इन्धन हाम्रो देशमा ! सुन्दा मनै गद्गद् हुन्छ—हामी पनि त केहीमा नम्बर वान भयौं ।
त्यसमाथि अर्को गौरवशाली तथ्य—दक्षिण एशियामै सबैभन्दा खुशी नेपाली ! अब त प्रमाणित भयो, हामीलाई खुशी हुन महंगी चाहिन्छ । जति महंगो, उति खुशी !
पहिलेपहिले खुशी हुनलाई मान्छेले माया, सम्बन्ध, स्वास्थ्य जस्ता साना कुरा खोज्थे । अहिले चाहिँ पेट्रोलको भाउ हेरेर नै खुशी हुने जमाना आयो । पहिले पेट्रोलको भाउ २, ३ रुपैयाँ मात्रै बढ्दा पनि नेपाल दक्षिण एशियामै खुशी देश थियो । यति धेरै खुशी नेपालीलाई २, ३ रुपैयाँले मात्रै के चित्त बुझ्थ्यो ! चित्त खुसी पार्न अहिले लिटरमै २०, ३० रुपैयाँ बढ्न थालेपछि हाम्रो खुशी झन् बढ्यो । महंगो पेट्रोल, सस्तो खुसी ! दक्षिण एशियामा खुशी नेपाल, दक्षिण एशियामै महंगो इन्धन नेपालमा ।
इन्धनको भाउसँगै गाडीभाडा बढ्यो । नुन, भुटन, तरकारी, मरमसला, दाल, चामलदेखि खानेपानीसम्मको भाउ बढ्यो ।
पहिले बस चढ्नेबित्तिकै २० रुपैयाँ भाडा थियो । अहिले ३० रुपैयाँ पर्छ । कहिलेकाहीँ बस चढ्दा पहिलेभन्दा झन्डै दोब्बर भाडा तिर्ने बेला मनमनै खुशी हुन्छु–पहिले म साधारण मान्छे थिएँ, अहिले महंगो यात्रु भइसकेँ । भाडा बढेपछि बस चढ्दा पनि आफैँलाई भीआईपी अर्थात् विशिष्ट जस्तो लाग्छ । किनभने अब म सस्तो मान्छे रहिनँ, म त महंगो यात्रु भएँ !
बजार जाँदा पनि त्यही हालत । पहिले १ सय रुपैयाँमा एकझोला तरकारी आउँथ्यो, अहिले १५० रुपैयाँमा झोला मात्रै आउँछ । तर त्यो झोला समाएर घर फर्कँदा गर्व लाग्छ–आज म महंगो तरकारी किनेर फर्कंदैछु । तरकारीसँगै मेरो पनि भाउ बढ्यो ।
पानीको कुरा झन् रोचक छ । पहिले पानी निःशुल्क थियो । अहिले पानी पहिलेको पेट्रोल जस्तै भएको छ । पानी पिउँदा पनि मनले भन्छ–यो भीआईपी पानी हो, सस्तो पानी होइन ।
अचेल नुन, तेल, चामल–सबथोकले आफ्नो इज्जत बढाएका छन् । पहिले घरमा नुन सकियो भने आमाले कराउनुहुन्थ्यो–नुन सकियो । अहिले त नुन सकियो भने घरमा आपतकाल घोषणा गर्नुपर्ने अवस्था छ–सावधान ! नुन सकिएको छ, आर्थिक सङ्कट गहिरिँदैछ ।
तेल त झन् राजासाहेब बनेको छ । पहिले कराईमा तेल राखेर झ्वाईंय पार्दा सामान्य जस्तो लाग्थ्यो । अहिले तेल हाल्दा झ्वाईंय गर्नुभन्दा पहिले मनमा बजेटको अलार्म बज्छ–सावधान, तपाईंले महंगो निर्णय लिनुभएको छ !
पहिले दिनमा एक कोसा केरा खानु सामान्य थियो । मन्त्रीहरुका सम्पत्ति विवरणमा तोलाका तोला सुन देखेपछि पहेंलो केरा सुनजस्तै महंगिन थाल्यो । अहिले त पसलमा झुण्ड्याएको केरा नजिक उभिंदा पनि आफ्नो शान बढेजस्तो लाग्छ ।
अचम्म के भने, सबैथोकको भाउ बढ्दा तलब चाहिँसधै भित्तामा झुण्डिएको पुरानो फोटो जस्तो छ । न बढ्छ, न बदलिन्छ । अचेल समयमा पाउँदा तलब पनि ‘बोनस’ जस्तो लाग्छ । कहिल्यै नपाउँदा पनि ‘परम्परा’ जस्तो मात्रै लाग्छ ।
अब जब खर्च बढ्छ र आम्दानी उही रहन्छ, तब के हुन्छ ? तनाव बढ्छ । तनाव बढेपछि प्रेसर बढ्छ । प्रेसर बढेपछि डाक्टर खोज्नुपर्छ । डाक्टर भेटियो भने ओखती खानुपर्छ । ओखती पनि महंगो छ ! ओखती महंगो भएर थपिएको तनाव कम गर्न अर्को ओखती थप्नुपर्छ । महंगो ओखती किन्दा र खाँदा आफूलाई महंगो ओखती खाने नयाँ भीआईपी भइसकेको अनुभव गर्दा फेरि खुसी बढ्छ । जति महंगो औषधी, त्यति धेरै मन खुसी ! महंगो औषधी, सस्तो खुसी !
अचेल दिनदिनै मेरो भाउ बढेको छ । खाँदा बढ्छ, हिँड्दा बढ्छ, बस्दा बढ्छ, कसैलाई भेट्दा बढ्छ, नभेट्दा झन् बढ्छ, सुत्दा बढ्छ, उठ्दा बढ्छ । निंद्रा र सपनाको भाउ बढेर होला, बिहान उठ्दा भीआईपीको रात अनिदै बिते जस्तो लाग्छ ।
हामी यस्तो देशका नागरिक हौँ जहाँ सबै कुरा बढ्छ–भाउ, कर, तनाव, प्रेसर । तर नबढ्ने एउटा मात्र चीज छ–तलब । त्यो तलब यस्तो स्थिर छ, जस्तो कुनै ऐतिहासिक स्मारक–कहिल्यै नहल्लिने । तर यति हुँदाहुँदै पनि हामी खुशी छौँ । किनकी हामीलाई सिकाइएको छ–खुशी हुन कारण चाहिँदैन, सहनशीलता चाहिन्छ ।
हामी सहन्छौं, हाँस्छौं र भोलिपल्टदेखि महंगो जीवनलाई सहज ठान्न थाल्छौं । जति महंगी बढ्छ, उति नै आफ्नो भाउ बढ्छ । बितेका केहीदिनमै मेरो भाउ त झन्डै दोब्बरले बढिसक्यो, तपाईंको चाहिँ कति बढ्यो ? हिसाब गर्दै गर्नुस् है त !


