
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालका अनुसार शुक्रबारसम्म सबै जाँच गर्दा रिपोर्टहरू नर्मल देखिएकाले सोमबारका लागि शल्यक्रिया गर्ने गरी तयारी गरिएको हो ।त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा.सुवास आचार्यले पूर्व प्रधानमन्त्री ओलीको पित्त थैलीको शल्यक्रियाका लागि तयारी भइरहेको भन्दै सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताए ।
‘रिपोर्टहरू नर्मल रहेका छन् । तर यो बिचमा कुनै उत्तारचढाव भएन भने सोमबार शल्यक्रियाको तयारी भएको छ’, डा।आचार्यको भनाइ छ । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए । तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।


