
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविदहरु ‘पर्दा पछाडिको हिरो’ भएको बताउनु भएको छ ।
विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले सो कुरा बताउनु भएको हो ।
फागुन २१ को निर्वाचनमा मौसमले साथ दिँदैन कि भन्ने प्रश्न उठिरहेका बेला मौसमविदहरुले मौसमले असर गर्दैन भनेको आधारमा सरकारले देशभर एकैचरणमा निर्वाचन सम्पन्न गर्न सकेको उहाँले बताउनु भयो ।
चुनावको मिति आउनुभन्दा एक साता अघिसम्म पनि हिमाली क्षेत्रमा हिउँका कारण चुनाव गर्न सकिन्छ कि सकिन्न भन्ने आशंका कायम रहेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘चुनाव एकै दिनमा एकै समयमा सम्पन्न हुनमा यहाँहरुको ठूलो भूमिका रहेको छ । तपाईंहरु पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने पर्दा पछाडिका हिरोहरु हुनुहुन्छ । म यहाँहरुप्रति आभार व्यक्त गर्न चाहान्छु ।’
उहाँले स्रोत साधनको कमीको बाबजुद पनि मौसम सम्वन्धी अध्ययन र जानकारीहरु उपलब्ध गराइरहेको भन्दै मौसमविदहरुको प्रशंसा गर्नुभयो ।
अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धान लाई अघि बढाउँदै मौसम सम्बन्धी सेवालाई प्रभावकारी रुपमा आम नागरिकसम्म पुर्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनु भयो । उहाँले मौसम पूर्वानुमान सम्बन्धी सूचना र जानकारी स्थानीय भाषामा पनि सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।
आफूले ३४ वर्ष कानुनको क्षेत्रमा बिताएको बताउँदै मन्त्री सिन्हाले जल तथा मौसम विज्ञान विभागलाई आइपर्ने कानुनी अप्ठ्यारा फुकाउन आफू सधैं प्रतिबद्ध रहेको बताउनु भयो ।


