२०८२ चैत ९ सोमवार , ०२:२५:४० बजे

Sajhamanch
'

अस्पताल भवन अलपत्र पारेको भन्दै हलेसी नगरपालिकाले नियन्त्रणमा लियो ठेकेदारको गाडी

सोमवार, चैत ९, २०८२

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।

आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले जानकारी दिनुभयो ।

हलेसीमा २०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको काम समेत पुरा नभएको, काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि प्रगती नभएपछि नगरपालिकाले गाडी कव्जामा लिएको हो ।

मेयर राईले चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर चाबी नियन्त्रणमा लिएर प्रहरीलाई बोलाउनु भएको थियो । ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको गाडी नियन्त्रणमा लिएको विषयमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकेको छ ।

नगरपालिकाले ठेकेदारलाई आगामी चैत १२ गतेदेखि अस्पतालको भवन निर्माणको कामलाई जारी राख्ने प्रतिबद्धता जनाउन लगाएको छ । चैत १२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फष्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेण्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको हो । सो प्रतिबद्धता अनुसार काम नगरे नियम अनुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागज गराइएको मेयर राईले बताउनु भयो ।

पटक–पटक फोन गर्दा नउठाएपछि मेयर राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याकलिष्ट’मा राख्ने मेसेज पठाएपछि निर्माण व्यवसायी बस्नेत नगरको सम्पर्कमा आएका थिए ।

नमुना/हिमालयन जेभीले २०८० साउन ८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता म्याद नाघेको दुई वर्ष बितिसक्दा अस्पताल भवन जगभन्दा माथि उठ्न सकेको छैन ।

हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते भवन शिलान्यास गर्नु भएको थियो । तर डीपीआर र जग्गाको भौगोलिक अवस्था नमिल्दा हलेसीको आधारभूत अस्पताल भवन निर्माणको काममा केही अलमल भएको थियो ।

अस्पताल निर्माणका लागि स्थानीय सात जना जग्गादाताबाट नौ रोपनी जग्गा निस्शुल्क जुटाइएको थियो । तर जग्गा यकिन नगरी नक्सा तयार पारेर अस्पताल निर्माणको काम अघि बढाइएको थियो । अस्पतालको घडेरी बनाउने क्रममा जग्गादाता रत्न राईले दिएको भन्दा अर्कोतिरको जग्गा मिचिएपछि समस्या निम्तिएको नगर प्रवक्ता कमल गिरीले बताउनु भयो ।

सम्बन्धित खबर