२०८२ चैत ७ शनिवार , ०८:३३:१४ बजे

Sajhamanch
'

सुरेन्द्र पाण्डेको ठहर : एमाले सच्चिने कि सक्किने संकटको सामना गर्दैछ

शनिवार, चैत ७, २०८२
  • टोपराज शर्मा, अनलाइनखबरमा

बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताएका हुन् ।

जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा शुरु भएको पाण्डेले औंल्याए ।

पार्टी अध्यक्ष एक पटक मात्र हुन पाउने व्यवस्था विधानमै भएको भएपनि एमाले अहिलेको अवस्थामा नआउने पाण्डेले टिप्पणी गरे । एकपटक अध्यक्ष भएपछि सबै शक्ति हातमा लिने र नेतृत्व छाड्न नचाहने, सामूहिक नेतृत्व र टिममा काम गर्ने निश्चित पद्दति नभएकाले पनि पार्टी कमजोर बन्दै गएको पाण्डेले औंल्याए ।

पार्टीलाई पुनःसंरचना गरेर पुरानै अवस्थामा फर्काउन अब देशभरका पार्टी सदस्यहरुले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने नेता पाण्डेले आग्रह गरे ।

संघीय निर्वाचनको प्रभाव प्रदेश र स्थानीय तहसम्म जाने भन्दै उनले पार्टीले ब्यहोरेको पराजयको जिम्मेवारी नेतृत्वले लिन तयार हुनुपर्ने बताए । ‘नेतृत्व र जिम्मेवारीमा बसेर कमजोरी स्वीकार्न र बदलिएर जान तयार हुनुपर्छ’ उनले भने, ‘पार्टी अहिले निर्णायक मोडमा छ, सच्चिने कि सक्किने भन्ने अवस्थाको सामना गरिरहेको छ ।’

सच्चिने अन्तिम मौका रहेको तर धेरै ढिला भइरहेको भन्दै उनले समस्या सतही नभई संरचनागत रहेको दाबी गरे । ‘महोत्तरी र धनुषाको पार्टी सदस्य संख्या र पाएको मत संख्याले पुष्टी गरेको छ कि यो सर्भिसिङबाट होइन स्ट्रक्चरल समस्या छ, यो पूरै फेर्नुपर्छ’ उनले भने, ‘यो नभए सक्किने बाहेक केही होइन ।’

हरेक वडाको पार्टी सदस्य संख्या र अहिले पाएको मत तुलना र समीक्षा गरेर पार्टी पुनःसंरचना गर्न कार्यकर्ता तह जाग्नुपर्ने पाण्डेले आग्रह गरे ।

पाण्डेले अब स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका उम्मेदवारलाई टिकट सम्बन्धित पार्टी कमिटीले निर्णय गर्न पाउनुपर्ने व्यवस्था गरेमा पार्टी संगठन स्थानीय तहसम्म विकेन्द्रित र बलियो हुने औंल्याए ।

यसपटकको निर्वाचनमा सामाजिक सञ्जाल र सूचना प्रविधिको पहुँचको प्रभावले ठूलो असर गरेको स्वीकारे ।

युवादेखि ज्येष्ठ मतदातासम्मको दूरी बढेको उल्लेख गर्दै उनले एमालेलाई ३० वर्षमुनिका अधिकांश युवाले भोट नहालेको र ६० माथिका भोट हाल्नै नगएको तर्क गरे । एमालेले संरचनागत आमूल सुधार र कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट मात्र जित्ने टिप्पणी गरे ।

‘२०७४ मा झन्डै १७४ सिट जित्दा दिग्विजय गर्‍यौं भन्ने थियो नि, जोगाउन सकेनौँ । एमाले (कम्युनिस्ट)हरू पहिला ३÷४ वटा बसमा आउँथे, ७९ को चुनावमा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटी स्कुटरमा अट्ने सिट मात्र आउँछ’ पाण्डेले भने, ‘हामीले ठिक बाटो लिएनौं भने त त्यही होला । त्यसैले हामी जोखिम अवस्थामा छौं । तर संकल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ ।’

कमजोरीप्रति निर्मम बनेपछि मात्रै सही बाटो पहिल्याउन सकिने अन्यथा सामुहिक मलामी जाने दिन आउने पाण्डेको चेतावनी छ ।

सम्बन्धित खबर