
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ ।
मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा। रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दाबी गर्नुभयो ।
मध्यपूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले ‘स्ट्रेट अफ होर्मुज’ मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको पनि कृषि मन्त्रालयले जनाएको छ ।
बिस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्राङ्गारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ । अब खेतीको मुख्य सिजन शुरु भैसकेको छ । यो बेला रासायनिक मलको माग र विषय जोडतोडका साथ उठ्ने गर्छ ।
नीति तथा कार्यक्रममा जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकतामा राखिएको छ । जैविक तथा प्राङ्गारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ ।
जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभएको छ ।


