२०८२ चैत ७ शनिवार , १२:२१:४३ बजे

Sajhamanch
'

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ : चैत ११ मा ज्येष्ठ सदस्य केसीको र १२ गते सबैको

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले चैत ११ गते शपथ लिने भएका छन् । यसका लागि संघीय संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको हो ।

‘निर्वाचित भएकाहरू मध्येबाट ज्येष्ठ सदस्यको पहिचान गरिएको तथा शपथ चैत ११ गते अनुकूल समयमा हुने गरी राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ’ संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका हुन् ।

गिरीका अनुसार संसद् सचिवालयले शुक्रबार ज्येष्ठ सदस्यको पहिचान गरेको हो । नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन् । उनी ७८ वर्षका भए ।

ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिसँग शपथ लिएपछि बाँकी सदस्यहरूलाई शपथ गराउनेछन् । बाँकी सदस्यहरूको शपथ चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ ।

शपथ लिन जानेका लागि जरुरी सामग्री :

शपथ ग्रहणका लागि प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ ।

शपथ ग्रहणमा जाँदा सांसदहरुले केही कागजपत्रसमेत लैजानुपर्ने हुन्छ । सचिवालयले जारी गरेको सूचनामा लेखिएअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति ल्याउन भनिएको छ ।

शपथ ग्रहणमा जाँदा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन संसद् सचिवालयले भनेको छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अघि नै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने हुन्छ ।

सम्बन्धित खबर