२०८२ चैत ५ बिहिवार , ०५:००:४५ बजे

Sajhamanch
'

भोलि लुम्बिनी र पर्सि कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना

बिहिवार, चैत ५, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि शुक्रवार लुम्बिनी र पर्सि शनिवार कोशी प्रदेशमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भोलि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा तीव्र हावा चल्ने उल्लेख छ । यस्तै पर्सि पूर्वी क्षेत्रका मोरङको विराटनगर, धनकुटा र सुनसरीको धरान आसपासका ठाउँहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।

महाशाखाका अनुसार झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ । महाशाखाले सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ ।

यसैबीच आउँदो तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । भोलि विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा ठूलो वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी तथा हिमाली भू–भागमा बदली रहँदै केही ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने कोशी, बागमती र तराईमा हल्का वर्षा हुन सक्छ ।

पर्सि शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मौसमविद्हरूले मेघगर्जन, चट्याङ र हावाहुरीबाट बच्न सावधानी अपनाउन तथा कर्णाली र सुदूरपश्चिममा यात्रा गर्दा सतर्क रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबर