
काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ ।
मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ ।
भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिन दूतावासले अनुरोध गरेको हो । सरकारले द्वन्द्वग्रस्त मध्यपूर्वमा अलपत्र रहेका नेपालीहरूलाई सम्बन्धित देशमा रहेका दूतावासमार्फत उद्धार गर्ने निर्णय गरेको छ ।
यसैबीच यूएईमा रहेका नेपालीलाई युद्धका दृश्यहरु खिच्ने र सार्वजनिक गर्ने काम नगर्ने अवुधावीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।



