
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ ।
यूएईमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले अप्रमाणित सूचना सामाजिक सञ्जालमा फैलाउनेलाई कडा कानूनी कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ ।
राजदूतावासले जारी गरेको तेस्रो परामर्शमा यूएईको कानून बमोजिम त्यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिलाई कम्तीमा एक देखि दुई वर्षसम्म जेल सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिवाना हुन सक्ने उल्लेख छ ।
राजदूतावासले यूएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई अज्ञात स्रोतबाट आएका हल्ला प्रसार नगर्न र तस्बीर तथा भिडिओ पोस्ट नगर्न भनेको छ । साथै, मिसाइल आक्रमण तथा आक्रमण निस्तेज पारिएका र जमिनमा झरेका टुक्राहरुको फोटो खिच्ने, नजिक जाने र छुने कामबाट टाढा रहन पनि राजदूतावासले अनुरोध गरेको छ ।
यूएई सरकारले निर्दिष्ट गरेका सुरक्षा मापदण्डहरू पूर्णरूपमा पालना गर्न र साथीभाइलाई पनि जानकारी दिन राजदूतावासको आग्रह छ ।



