२०८२ फागुन ३० शनिवार , ११:२८:५७ बजे

Sajhamanch
'

भदौ २४ को आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको पुष्टि

शनिवार, फागुन ३०, २०८२

काठमाडौँ । २३ भदौको जेन–जी आन्दोलनको भोलिपल्ट देशका मुख्य संरचनाहरुमा भएका आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार ईकान्तिपुरमा प्रकाशित छ ।

भारत पठाएर गरिएको नमूना परीक्षणका क्रममा पेट्रोलियमजन्य पदार्थहरुका अवशेष ‘पेट्रोलियम हाईड्रो कार्बन’ पाइएको प्रतिवेदन काठमाडौं आइपुगेको हो ।

त्यो प्रतिवेदन एक साताअघि नै आइपुगेको भए पनि गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगको प्रतिवेदनमा यसबारे समेटिएको छैन ।

‘सुरुमा प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएका थियौं, नेपालमा नतिजा नआएपछि अरु देशमा पनि पठाउनेबारे कुराकानी भएको थियो । पछि सरकारले भारत पठायो,’ समितिका एक सदस्यले भने, ‘तर, त्यसको प्रतिवेदन अन्तिम समयसम्म पनि नआएपछि समेट्न सकेका थिएनौं ।’

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले २४ भदौमा भएको आगजनीका क्रममा रसायनिक पदार्थ प्रयोग भएको शंका गर्दै समाचार लेखेपछि जाँचबुझ आयोगले त्यसबारे चासो देखाएको थियो । त्यसैले घटनाको झण्डै डेढ महिनापछि प्रहरीले नमूना संकलन थालेको थियो ।

फरेन्सिक परीक्षणका लागि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय र निजी क्षेत्रबाट कान्तिपुर पब्लिकेशन्स् तथा भाटभटेनी सुपरमार्केटबाट प्रहरीले खरानी संकलन गरेको थियो । एउटै आगजनी स्थलमा समेत फरक–फरक ठाउँका नमूना संकलन गरिएको थियो ।

यही विषयमा अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन एसपी काजीकुमार आचार्यको नेतृत्वमा समेत छानबिन समिति बनेको थियो । त्यसपछि प्रहरीको समिति र जाँचबुझ आयोग दुवैले यसको परीक्षण प्रतिवेदनबारे चासो देखाएका थिए ।

तर, नेपालमा ती नमुनाको परीक्षण हुन सकेन । त्यसपछि प्रहरीको विधि विज्ञान प्रयोगशाला हुँदै गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासको सहयोगमा नमूना परीक्षणको प्रक्रिया अघि बढाइएको थियो ।

गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो परीक्षणका लागि काठमाडौंमा रहेको विधि विज्ञान प्रयोगशालाबाट एक जना डीएसपी सा’ब आफैं दिल्ली पुग्नुभएको थियो ।’

उनलाई झण्डै ३ किलो नमूना लिएर भारत पठाइएको प्रयोगशाला स्रोतले समेत पुष्टि गर्‍यो । ‘उहाँले दिल्लीस्थित नेपाली दूतावाससँग मिलेर परीक्षणका लागि भारतीय विदेश मन्त्रालयको नर्थ ब्लकसँग समन्वय गर्नुभयो र नमूना जाँचका लागि प्रयोगशालामा पठाइएको थियो,’ स्रोतले भन्यो, ‘त्यो प्रतिवेदन १८ दिनअघि नै तयार भएर नेपाल पठाइएको थियो ।’

त्यसबेला पनि प्रतिवेदन परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय र प्रयोगशालासम्म पुगेको प्रहरी स्रोतको भनाइ छ । छानबिन समितिका अधिकारीहरु चाहिँ आफूहरुको अध्ययन अन्तिम चरणमा पुगिसकेका बेलासम्म कुनै जवाफ नपाएको बताउँछन् । ‘हामीले पाएजति विवरण त्यहीँ राखिदिएका थियौं, नभएका कुरालाई थप अनुसन्धान गर्नुपर्ने उल्लेख गरिदिएका थियौं,’ समितिका अर्का सदस्यले भने ।

जेन–जी आन्दोलनका लागि युवा एकजुट भएको प्लाटफर्म ‘डिस्कर्ड’का ‘युथ अगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक सर्भरमा सोडियमसहितका रसायन र पेट्रोल बम बनाउने विषयमा छलफल भएको थियो ।

‘डिस्कर्ड’ को छलफलमा ‘मोलोटोभ ककटेल’ शब्द मात्रै ३५६ पटक प्रयोग भएको भेटिएको थियो । ती विषय जोडेर जाँच्ने प्रयास गरिएको, तर तत्काल उपलब्ध प्रमाणका आधारमा आगजनी संगठित र योजनाबद्ध थियो भन्ने पुष्टि गर्न नसकिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

कार्की आयोगले २३ र २४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस समेत गरेको छ ।

आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो । २३ भदौको जेन–जी आन्दोलनमा भएको सरकारी दमन र २४ भदौमा भएको प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो ।

सम्बन्धित खबर