
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ । महासभाले आज प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाइनेछ ।
राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार नेपालले गरेको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख छ ।
राजदूत थापाका अनुसार आरोग्य दिवससम्बन्धी प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
यो प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताउनुभएको छ ।


