२०८२ फागुन २६ मङ्गलवार , १०:४८:३४ बजे

Sajhamanch
'

कांग्रेस झापाद्वारा निर्वाचन सम्पन्न गराउने सबैपक्षलाई धन्यवाद ज्ञापन

मङ्गलवार, फागुन २६, २०८२

झापा । नेपाली कांग्रेस झापाले फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला कार्य समिति झापाका सभापति देउकुमार थेवेको अध्यक्षतामा आयोजित बैठकपछि एक अपिल जारी गर्दै जिल्ला पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरिएको हो ।

जिल्ला सभापति थेवेद्वारा हस्ताक्षरित अपिलमा ‘निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, निर्वाचनमा खटिनुभएका राष्ट्रसेवक कर्मचारी, पत्रकार, निर्वाचन पर्यवेक्षक, मानवअधिकारवादी, निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरु, उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार एवं समस्त मतदाताहरुमा धन्यवादसहित आभार ब्यक्त गर्दछौं’ भनिएको छ ।

आवधिक निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्ने प्रक्रिया लोकतान्त्रिक अभ्यास भएको र प्राप्त मतपरिणामलाई नेपाली कांग्रेसले स्वभाविक रुपमा ग्रहण गर्ने उल्लेख गर्दै अपिलमा विजयी भई सरकार सञ्चालन गर्ने दल र जनप्रतिनिधिलाई देश र जनहितमा लोककल्याणकारी राज्य सञ्चालन गर्न आग्रह गरिएको छ ।

‘जनताले गरेको लामो समयको संघर्षपछि प्राप्त भएको उपलब्धीको रक्षा गर्दै मुलुकको समृद्धि र जनताको जीवनस्तरमा सुधार ल्याउन अब बन्ने नयाँ सरकारलाई सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गर्दछौं’ अपिलमा भनिएको छ– ‘लोकतान्त्रिक अभ्यासलाई अनुशरण गरी निर्वाचनमार्फत विजयी हुनुभएका सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।’

निर्वाचन परिणामको विषयलाई लिएर सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा नकारात्मक टिकाटिप्पणी, वादविवाद नगर्न कार्यकर्तामा आग्रह गर्दै अपिलमा पार्टीको आधिकारिक मञ्चमा आफ्ना कुरा राख्न अनुरोध गरिएको छ । ‘पार्टी संगठनलाई नयाँ शिराबाट माथि उठाउन सबै साथीहरुका बीचमा अटुट एकता, मेलमिलाप, सद्भाव अपरिहार्य रहेको विषयलाई हृदयङ्गम गरी जनताको दुःख, सुखमा साथ दिँदै आत्मीय सम्बन्ध विस्तार गरेर अघि बढ्न सबैमा हार्दिक अपिल गर्दछौं’– अपिलमा भनिएको छ ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले केन्द्रीय समितिले केही दिनमै समीक्षा बैठक गरेपछि जिल्लास्तरमा पनि समीक्षा बैठक हुने जानकारी दिँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने सबै पक्षप्रति आभार ब्यक्त गर्नुभयो ।

बैठकमा झापा क्षेत्र नम्बर–२ का उम्मेद्वार सरिता प्रसाई, क्षेत्र नम्बर–३ का उम्मेद्वार राजेन्द्रकुमार घिमिरे, क्षेत्र नम्बर–५ का उम्मेद्वार मन्धरा चिमरिया पौडेल लगायतले आ–आफ्नो धारणा राख्दै निर्वाचन सम्पन्न गराउने पक्ष र सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्नुभयो ।

पार्टीका उपसभापति शेरबहादुर भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको बैठकको सहजीकरण सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।

सम्बन्धित खबर