
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एअर’ का अनुसार केही दिनयता काठमाडौं उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको छ ।
हिजो काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १८४ पुगेको थियो, यो स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ । हिजो काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो नम्बरमा पुगेको थियो भने आज बिहान एक्यूआई थप बढेर १८८ पुगेको छ र एक्यूआई १८८ हुँदा काठमाण्डौ विश्वको चौथो प्रदूषित शहरको सूचीमा छ ।
आज बिहान पाकिस्तानको लाहोर २३० एक्यूआईसहित पहिलो, भारतको राजधानी दिल्ली २०८ एक्यूआईसहित दोस्रो र बङ्गलादेशको ढाका २०२ एक्यूआईसहित तेस्रो स्थानमा रहेका छन् ।
काठमाडौंमा बढ्दो गाडीको चाप, देशका विभिन्न भागमा लागिरहेको डढेलो र आकाश धुम्म भएर पानी नपर्दा हावा दूषित बन्दै गएको विज्ञहरू बताउँछन् । प्रदूषित हावाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दम, निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीलाई गम्भीर असर पुर्याउन सक्छ ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट जोगिन सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं उपत्यकामा प्रदूषण बढेकाले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौलालगायत स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।
दीर्घरोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर ननिस्कन तथा निस्कनै परे मास्क प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ । विशेषगरी बिहान र बेलुकाको समयमा बाहिर कम निस्कन तथा धुलोधुवाँबाट जोगिने उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
यो हप्ताभर काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था कायम रहने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । आज पनि काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेको छ ।


