२०८३ जेठ २ शनिवार , ०८:०३:२२ बजे

Sajhamanch
'

बालेनलाई ‘हाम्रो प्रधानमन्त्री’ नभन्न उपसभापति डिपी अर्यालको निर्देशन !!

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ । सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको जनआस्थामा खबर छ ।

गत पुस १३ गते पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन साहबीच सात बुँदे सम्झौता भएको थियो । जसको बुँदा नम्बर ४ मा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहने ।’

तर यतिबेला भने पार्टीको नेतृत्व पंक्ति नै उक्त सम्झौता उल्टाउने प्रयासमा रहेको आशंका गरिएको छ । पार्टी उपसभापति डिपी अर्यालले निर्वाचित प्रतिनिधि,विभिन्न ठाउँमा अग्रता लिइरहेका उम्मेदवार र समानुपातिक बन्दसूचीमा रहेका व्यक्तिहरुलाई तत्काल बालेनलाई ‘हाम्रो प्रधानमन्त्री’ नभन्न निर्देशन दिएका छन् । पार्टीकै एक नेताका अनुसार अर्यालले आन्तरिक निर्देशनमार्फत् ‘बालेन हाम्रो प्रधानमन्त्री हो’ भन्दै मिडियामा नबोल्न भनेका हुन् ।

समानुपातिक बन्दसूचीमा रहेका ती नेता भन्छन्, ‘उपसभापतिज्यूले मिडियामा अहिले नै बालेन हाम्रो प्रधानमन्त्री भन्दै अन्तर्वार्ता नदिन भन्नुभएको छ । त्यो कुरा पछि संसदीय दलको बहुमतबाट निर्णय हुने भन्नुभयो’ ।

काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उपसभापति अर्यालले हिजो विजयी बनेपछि आफूलाई रवि र बालेनको सम्झौताबारे जानकारी नभएको बताएका थिए । ‘त्यो सम्झौतामा के लेखिएको छ, हेर्नुपर्छ, मलाई कण्ठ छैन’ उनले भनेका थिए, ‘अब संसदीय दल बन्ला, त्यसले गर्ने निर्णयलाई हामीले मान्ने हो ।’

उता सभापति लामिछानेले पनि हिजो चितवनमा उस्तै आशयको अभिव्यक्ति दिएका थिए । अबको पाँच वर्ष बालेन नै हो प्रधानमन्त्री ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले टाउको फर्काएर विषय नै डाइभर्ट गरेका थिए । उनले कुनै ठोस जवाफ दिएनन् ।

‘अब कि बार,बालेन सरकार’ भन्दै मत मागेका सभापति र उपसभापतिले मतपरिणाम सार्वजनिक भएसँगै बालेनलाई ‘हाम्रो प्रधानमन्त्री’ भन्न गरेको कन्जुस्याइँले पार्टीभित्रको अन्तविरोध चर्किदै गएको देखाएको हो ।