२०८२ फागुन २५ सोमवार , ११:४०:३९ बजे

Sajhamanch
'

कोशी प्रदेशमा एक दर्जनभन्दा बढी ‘पुराना खेलाडी’ पराजित

आइतवार, फागुन २४, २०८२

विराटनगर । कोशी प्रदेशमा सम्पन्न प्रतिनिधिसभामा कोशी प्रदेशका एक दर्जनभन्दा बढी पुराना हस्तिहरूले पराजय व्यहोरेका छन् ।

कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू यस पटक पनि चुनावी प्रतिस्पर्धामा थिए ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका विजयकुमार गच्छदारसम्मका पुराना अनुहारहरू पटक–पटक दोहोरिँदै चुनावी मैदानमा उत्रिए पनि उनीहरु यस पटक रास्वपा र श्रम संस्कृति पार्टीका उम्मेदवार सामु निरीह बने ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट पराजित बने । २०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय ओलीले २०४८, २०५१, २०५६ र २०७४ का निर्वाचनमा सानदार जित हासिल गरेका थिए । २०५६ को निर्वाचनमा त उनले दुईवटा निर्वाचन क्षेत्रबाट जित निकालेका थिए ।

यद्यपि, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनले पराजय व्यहोरे । २०८२ मा फेरि उनले पराजयको स्वाद चाखेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले लज्जास्पद पराजित गरे ।

उता, सुनसरी–३ मा नेपाली कांग्रेसले फेरि पनि विजयकुमार गच्छदारको पनि यस अन्तिम पटक संसद् पुग्ने धोको पुरा भएन । २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट चुनाव लड्दै आएका गच्छदारको यो आठौँ चुनावी प्रतिस्पर्धामा पराजित बनेका हुन् ।

गच्छदारले विगतमा सुनसरी–२ बाट समेत दुईपटक जित दर्ता गराइसकेका छन् । उनलाई २०७९ सालको निर्वाचनमा एमालेकी भगवती चौधरीले पराजित गरेकी थिइन् । यस पटक पनि गच्छदारलाई रास्वपाका अशोक चौधरीले पराजित गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले अनुभवी नेता जगदीशप्रसाद कुसियत पनि यस पटक पराजित बन्ने अवस्थामा छन् । यद्यपि अझै परिणाम आइसकेको छैन । त्यहाँ रास्वपाका उम्मेदवार निक्कै अगाडि छन् । उनी पनि आठौँ पटक चुनावी मैदानमा होमिएका थिए ।

विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा आएका कुसियतको चुनावी यात्रा निकै उतारचढावपूर्ण छ । २०५१ मा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका उनी २०५३ को उपनिर्वाचनमा विजयी भएका थिए । २०७४ मा प्रदेशसभा सदस्य जितेर मन्त्री बनेका कुसियत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग झिनो मतान्तरले पराजित भएका थिए । यसपटक उनी रास्वपाका दीपककुमार साहसँग पराजित बने ।

उता, पूर्वमुख्यमन्त्री एवं एमाले सचिव शेरधन राई भोजपुरबाट छैटौँ पटक चुनावी मैदानमा थिए । २०५६ सालमा मुलुककै कान्छो सांसद बनेर चर्चामा आएका राई २०७० मा पुनः निर्वाचित भएर सञ्चार मन्त्री बनेका थिए ।

२०७४ मा कोशी प्रदेशको पहिलो मुख्यमन्त्री बनेर इतिहास रचेका राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए । चुनावी नतिजामा धक्का लागे पनि पार्टीको आन्तरिक राजनीतिमा शक्तिशाली बन्दै उनी अहिले एमालेको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् । यस पटक उनी आफ्नै विगतका कार्यकर्ता रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले पराजित गरे ।

यस्तै कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला  मोरङ ६ बाट यस पटक फेरि पराजित भएका छन् । कोइराला पहिलो पटक २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार विजय गच्छदारसँग पराजित भएका थिए । कोइराला ०६५ सालको उपनिर्वाचनमा भने विजयी बने ।

२०७० सालको दोस्रो संविधानसभामा विजयी बनेका कोइराला २०७४ सालमा भने फेरि एमालेका लालबाबु पण्डितसँग पराजित भए । २०७९ सालमा सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका कोइराला यस पटक भने रास्वपाकी उम्मेदवार रुविना आचार्यसँग भार मतले पराजित बने ।

मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका नेकपाका नेता शिवकुमार मण्डल २०६३ सालको अन्तरिम संसद्का सदस्य पनि हुन् । उनले ६४ सालको पहिलो संविधानसभा निर्वाचन, ६५ सालको उपनिर्वाचनमा पराजय व्यहोरे । ७० साल, ७४ सालमा विजयी बनेका मण्डल ७९ सालको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित बने थिए । अहिलेको निर्वाचनमा मण्डल निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् । सो क्षेत्रबाट रास्वपाकी आशा झाले भारी मतान्तरले विजयी भइन् ।

कोशी प्रदेशका अन्य क्षेत्रहरूमा पनि पुराना उम्मेदवारहरू मुख्य पार्टीबाट प्रतिस्पर्धामा छन् । मोरङ–१ मा एमालेका घनश्याम खतिवडा पुरानै प्रतिस्पर्धी हुन् । संविधानसभा सदस्य समेत रहेका उनी ७९ सालको निर्वाचनमा पराजित बनेका थिए । यस पटक उनी पनि जितको खोजीमा थिए । तर, उनलाई रास्वपाका यज्ञमणि न्यौपानेले पराजित गरे ।

यस्तै अन्तरिम संसद् हुँदै संविधानसभा सदस्य बनेकी झापा–२ की धर्मशीला चापागाईं यस पटक प्रतिस्पर्धामै आउन सकिनन् । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर विजयी बनिन् ।

झापा ३ का उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, एमालेका हरिबहादुर राजवंशी र झापा ४ बाट उम्मेदवार बनेका एलपी साँवा जस्ता पुराना संविधानसभा सदस्यहरू पनि चुनावी प्रतिस्पर्धामा आउन सकेनन् । झापा ३ मा रास्वपाका प्रकाश पाठकले जित निकाल्दा झापा ४ मा पनि रास्वपाकै शम्भुप्रसाद ढकाल विजयी बने ।

उता, मोरङ–२ बाट डा. मिनेन्द्र रिजाल, मोरङ ४ बाट अमनलाल मोदी, सुनसरी–२ बाट रामकुमारी चौधरी, खोटाङका हरि रोका पनि संविधानसभा सदस्य हुन् । उनीहरूको संसद् जाने प्रयास यस पटक सफल भएन । मोरङ २ मा रास्वपाका कृष्ण कार्की, मोरङ ४ मा रास्वपाकै सन्तोष राजवंशी, सुनसरी २ मा रास्वपाकै लालविक्रम थापा विजयउन्मुख रहँदा, खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी बने ।

उता उदयपुर २ बाट उम्मेदवार बनेका संविधानसभा सदस्य सुरेशकुमार राई पनि यस पटक प्रतिस्पर्धामै आएनन् । सो क्षेत्रमा रास्वपाका सूर्यबहादुर तामाङ विजयी बन्दा राई चौथो स्थानमा रहे ।

सम्बन्धित खबर