२०८२ फागुन २३ शनिवार , ०९:०५:५७ बजे

Sajhamanch
'

नेकपा एमालेका पदाधिकारीहरु सबै पराजितको लहरमा

शनिवार, फागुन २३, २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले)को पदाधिकारीहरुले नै पराजय भोग्नुपरेको छ । जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली पनि पराजय उन्मुख छन् ।

झापा–५ का उम्मेदवार उनी रास्वपाका बालेन्द्र शाहभन्दा ‍‍‍‍करिब ४१ हजार मतले पछाडि छन् । शाहले ५६ हजार हाराहारी मत ल्याउँदा ओलीको मत साढे १५ हजार आसपास मात्रै छ ।

उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, भानुभक्त ढकाल, राजन भट्टराईले हार बेहोरिसकेका छन् ।

अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि जित्ने सभावना छैन । उनले वियोन्मुख प्रतिष्पर्धी उम्मेदवारलाई खादा पहिर्याएर बधाई दिइसकेका छन् ।

सचिव शेरधन राई पनि भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार भन्दा पछि छन् ।

उपमहासचिव रघुबीर महासेठ प्रतिस्पर्धामा निकै पछि परिसकेका छन् ।

अहिलेसम्म एमालेले बाँके–२ बाट मोहम्मद इश्तियाक राई र बझाङबाट ऐनबहादुर महर र दैलेख– २ बाट लक्ष्मीप्रसाद पोखरेलले मात्र जितेका छन् । एमालेले अहिले ८ स्थानमा अग्रता लिएको छ ।

२०७९ को निर्वाचनमा ७८ सिटसहित दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेका लागि यो हार अनेपेक्षित मात्र छैन, पार्टी नेतृत्व, नीति र कार्यक्रमप्रति पनि गम्भीर प्रश्न उठेको छ ।

निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समीक्षा गर्ने एमालेको तयारी छ । एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरुप पुनर्गठन गर्न अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रूपन्देही–२ मा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत एमालेको नीति, नेतृत्व, संगठनको कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई आह्वान पनि गरेका छन् ।

सम्बन्धित खबर