२०८२ फागुन २३ शनिवार , १२:३८:४७ बजे

Sajhamanch
'

शनिबार बिहानसम्म २५ क्षेत्रको नतिजा सार्वजनिक : को कहाँबाट विजयी (सूचीसहित)

शनिवार, फागुन २३, २०८२

काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा अस्ति बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाले एक सय बढी क्षेत्रमा अग्रता लिइरहेको छ भने १६ क्षेत्रमा जित निकालिसकेको छ ।

रास्वपाले अग्रता लिइरहँदा अन्य पूराना दलहरू भने जमानतसमेत जोगाउने चुनौतीमा छन् ।

काठमाडौं–१

रञ्जु दर्शना (नेउपाने) वैकल्पिक राजनीतिका रूपमा परिचित नाम थियो । उनले आफ्नो राजनीतिक करियर विवेकशील नेपाली पार्टीबाट गरेकी थिइन् । समयक्रममा त्यो पार्टी विलय भयो । त्यसपछि पनि उनी राजनीतिक रुपमा सक्रिय रहिन् ।

यसपटक सुरुमा उनी रास्वपाको समानुपातिक सूचिमा थिइन् । तर, उनीमाथि आलोचना भएपछि प्रत्यक्षमा उम्मेदवारी दिएकी थिइन् । उनको निर्वाचन क्षेत्रमा प्रबल थापा क्षेत्री (कांग्रेस), रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी)जस्ता चिरपरिचित प्रतिद्वन्द्वी थिए ।

तर, रास्वपाका लागि पहिलो जित उनै रञ्जुले निकालिन् । कुल मत १५ हजार ४५५ ल्याउँदा प्रतिस्पर्धीका रूपमा रहेका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए ।

काठमाडौं–३

काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए । पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।

काठमाडौं–४

२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम यसपालि भने संसद छिरेका छन् ।

उनले नेपाली कांग्रेसका सचिन तिमल्सिना, नेकपा एमालेका राजन भट्टराईजस्ता उम्मेदवारलाई हराए । उनले २९ हजार १८२ मत प्राप्त गरेका छन् ।

काठमाडौं–५

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपङ्क्तिमा खटिएका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् ।

वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित उनले नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा (एमाले)का ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङजस्ता चर्चित उम्मेदवारहरूलाई हराए ।

काठमाडौं–६

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।

काठमाडौं–८

२०७९ को निर्वाचनमा सानदार जित हासिल गरेर संसद छिरेका विराजभक्त श्रेष्ठ पुनः यसै क्षेत्रबाट निर्वाचित भएका छन् ।

विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा, बागमती प्रदेशसभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म बन्न पुगेका उनले यसपटक पनि सोही रेकर्ड दोहोर्‍याए । उनले २४ हजार ५९२ मत ल्याए ।

काठमाडौं–९

सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोलप्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । उनले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् ।

उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बाँस्तोलाले ५ हजार ४६० मत मात्र ल्याइन् । मत परिणामले काठमाडौंका मतदाताले नयाँ राजनीतिक शैली र नेतृत्वप्रति विश्वास प्रकट गरेको देखिन्छ ।

काठमाडौं–१०

काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् ।

दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् ।

बाँके–२

नेकपा एमालेले पहिलो जित बाँके–२ बाट निकालेको छ । एमालेमा नवप्रवेशी मोहम्मद ईश्तियाक राईले बाँके–२ बाट पहिलो जित दिलाए ।

२४ हजार ६२६ मत ल्याएर उनले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी बने ।

श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका छन् । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिएका थिए । उनको अग्रता र जित एमालेका निम्ति ठूलै राहत बन्न पुगेको छ ।

धनुषा–३

धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् । यहाँ कांग्रेसका बिमलेन्द्र निधि, नेकपा एमालेका जुलिकुमारी महतो जस्ता हेभिवेट उम्मेदवार थिए । ती हेभिवेटलाई हराउँदै मनिषले फराकिलो मतान्तरसहित आफ्नो जित निकाले ।

झा ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।

त्यहाँ यसअघि नेकपा एमालेका जुलीकुमारी महतो (महासेठ) विजयी भएकी थिइन् ।

कास्की–३

रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् । अन्तिम मतपरिणाम अनुसार उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरेकी हुन् ।

रास्वपा कास्कीको कोषाध्यक्षसमेत रहेकी बिनाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।

मोरङ–४

मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

उनले ४० हजार ८३३ मत प्राप्त गरे भने घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।

कास्की–२

पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भए । एमालेले जित्दै आएको क्षेत्रमा उनले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।

उनले कुल ३१ हजार ९११ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका थिए ।

मोरङ–६

कांग्रेस नेता डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरसहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् ।

उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी डा. कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४०० मत प्राप्त गरेका छन् ।

बाँके–१

बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।

त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याएकी छन् । श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।

स्याङ्जा–१

स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् ।

भर्खरै सकिएको मतगणनाअनुसार २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए ।

नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याए ।

रुपन्देही–४

रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८ हजार ६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए । नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् । राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए ।

तेह्रथुम

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए ।

सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बुले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बूको पक्षमा ९१९ मत पर्‍यो ।

दैलेख–१

करिब १२ वर्षपछि कांग्रेसले दैलेख १ मा आफ्नो उम्मेदवार उठाएको थियो । त्यसमा राजनीतिक गतिविधिसँगै उनले होटल व्यवसाय पनि सञ्चालन गरिरहेकी बासना थापा उठेकी थिइन् ।

उनले कांग्रेशका लागि ऐतिहासिक जित निकालेकी छिन् । सार्वजनिक मतपरिणाम अनुसार, थापाले १२ हजार ३७२ मत ल्याइन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । पहिलो प्रयासमै उनले संसद्को यात्रा तय गरेकी हुन् ।

रसुवा–१

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।

१० हजार ६५६ मत प्राप्त गरी आचार्य निर्वाचित भएका छन् । उनले मतगणनाको सुरुदेखि अग्रता कायम गरेका थिए । उनको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरे ।

मुस्ताङ–१

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३ हजार ३०७ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

मनाङ–१

मनाङ १ बाट टेकबहादुर गुरुङले जित निकालेका छन् । यसअघि दुई पटक संसदमा पुगिसकेका यो उनको तेस्रो जित हो ।

समाज कल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौंको भृकुटीमण्डपस्थित जग्गा भाडा प्रकरणमा उनी मुछिएका थिए ।

विशेष अदालतले २०७९ साल फागुन १६ गते उनलाई दोषी ठहर गर्दै फागुन २५ गते १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अभियोगपत्र अनुसार सजाय नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।

उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । राजनीतिक वृत्तमा उनी सांसद निर्वाचित भए पनि निलम्बनमा पर्नसक्ने चर्चा हुने गरेको छ ।

रूकुम पूर्व–१

साना कम्युनिष्ट पार्टीहरूलाई एक बनाएर निर्वाचनमा होमिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व १ बाट निर्वाचित भए ।

बारम्बार निर्वाचन क्षेत्र फेरिरहने उनले यसपाली १० हजार २४० मत ल्याए । उनले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पारे । अहिलेसम्मका पूराना प्रमुख नेताहरू मध्ये जीत हासिल गर्ने प्रचण्ड एक्ला रहेका छन् ।

कालिकोट–१

यस निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट महेन्द्रबहादुर शाहीले दोस्रो जित निकाले । उनले अन्य दलका उम्मेदवारहरू पछि पार्दै ११ हजार ३३६ मत ल्याएर उनी विजयी भएका हुन् ।

१० वर्षे सशस्त्र संघर्षका एक कमान्डर महेन्द्रबहादुर २०७२ मा संविधान सभाबाट नयाँ संविधान जारी भएपछि बनेको कर्णाली प्रदेश सरकारको पहिलो मुख्यमन्त्री हुन् ।

सम्बन्धित खबर