२०८२ फागुन १८ सोमवार , ०२:०२:३६ बजे

Sajhamanch
'

देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न, राति १२ बजेदेखि मौन अवधि शुरू हुँदै

सोमवार, फागुन १८, २०८२

काठमाडौं । चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ ।

आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि शुरू भएको मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ पालिकाका सबै वडामा हिजो सकिएको हो ।

हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो । निर्वाचन आयुक्त डा।जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आम नागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो ।

मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को चुनावदेखि जिम्मा दिन थालिएको थियो । आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ ।

यसैबीच आजराति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । यो समयमा चुनाब प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।

आयोगले यस अवधिमा चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने जनाएको छ  । त्यस्तै मतदानस्थलको ३०० मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न पाइने छैन ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्षमा मत माग्न पाइदैन । चुनावलाई नै असर पर्ने गरी कुनै उम्मेदवारले गतिविधि गरेमा मनोनयनपत्र नै खारेज पनि हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित खबर