२०८२ फागुन १७ आइतवार , ०८:३७:४३ बजे

Sajhamanch
'

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

आइतवार, फागुन १७, २०८२

झापा । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उहाँका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गर्नुभएको पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् ।

धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प्रजापिता बह्मा बाबाको स्मारक, आवास कक्ष र सेमिनार हल निर्माण गरिएका छन् ।

राजयोग र ध्यानका माध्यमबाट मानसिक तनाव कम गर्न र आध्यात्मिक ज्ञान प्राप्त गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुर्याउन धामको निर्माण गरिएको उहाँले बताउनुभयो ।

भारतको राजस्थानस्थित माउन्ट आबुमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तरराष्ट्रिय मुख्यालयमा रहेका महत्त्वपूर्ण संरचनाहरूको प्रतिकृति यस धाममा पाइने भएकाले भारत र नेपालका आध्यात्मिक पर्यटकलाई यसले आकर्षित गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

माउन्ट आबुकी राजयोगिनी उषा दिदी र ब्रह्माकुमारी राजयोग सेवा नेपालकी प्रमुख डा राज दिदीलगायतले हालै तपस्याधामको अवलोकन गर्नुभएको थियो ।

जग्गादातासमेत रहनुभएका कांग्रेस उपसभापति शर्माले मातापिताको स्मृतिलाई जीवन्त राख्न र शान्ति प्रवर्द्धनका लागि समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो परिवारले जग्गादान गरेको बताउनुभयो ।