२०८२ फागुन १३ बुधवार , ०२:०७:२६ बजे

Sajhamanch
'

धरान एयरपोर्टको नाममा रोक्का गरिएको जग्गा फुकुवा

बुधवार, फागुन १३, २०८२

सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ ।

एयरपोर्ट निर्माणस्थलको नाममा डाँडाघोपामा ५०० भन्दा बढी घरपरिवारको जग्गा रोक्का राखिएको थियो । धरान एयरपोर्टको नाममा यति इन्कर्पोरेटले खरिद गरेको ६ विघा जग्ग बाहेकका अन्य जग्गाहरू फुकुवा गरेको हो ।

डाँडाघोपामा एयरपोर्ट बनाउने नाममा २०८० भदौ ११ गते तत्कालीन नगर प्रमुख हर्कराज साम्पाङ राईले जग्गा बिक्री वितरण सिफारिस गर्न रोक्का गर्ने निर्णय गर्नु भएको थियो । उहाँको यो निर्णयले प्रस्तावित एयरपोर्ट क्षेत्रमा रहेका सयौं जग्गाधनीहरू मर्कामा परेर पनि केही बोल्न सकेका थिएनन् ।

केही स्थानीय बासिन्दाले जग्गा रोक्का भएकाले आफूहरू मर्कामा परेको गुनासो साम्पाङलाई सुनाएका पनि थिए । तर, त्यतिबेला सुनुवाइ हुन सकेको थिएन । डाँडाघोपामा एयरपोर्ट नबन्ने टुङ्गो लागिसक्दा पनि जग्गा फुकुवा नगरी मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी दर्ता गरी चुनावमा होमिए ।

राई पछि कार्यवाहक मेयरको रुपमा उपमेयर अइन्द्र विक्रम बेघा आए । स्थानीय बासिन्दाले एयरपोर्ट नबन्ने अवस्था भएकाले आफूहरूको जग्गा फुकुवा गरिदिन पटक पटक आग्रह गरेपछि फुकुवा गरिदिएको कावा मेयर बेघाले बताउनु भयो ।

‘स्थानीय जग्गाधनीहरूबाट जग्गा फुकुवा गरिदिन निवेदन आएपश्चात यति इनकर्पोरेट प्रालिको नाममा भएको जग्गाबाहेक अन्य जग्गाहरूको बिक्री वितरण सिफारिश मंगलबारदेखि नै फुकुवा गरिएको छ,’ उहाँले भन्न्ुभयो, ‘जग्गा फुकुवाको निर्णयको पत्र वडा नं. १७ को कार्यालयका साथै मालपोत र नापी कार्यालयमा पनि पठाइ सकिएको छ ।’

डाँडाघोपामा २२ बर्षअघि यति इन्कर्पोरेट कम्पनीले धरान एयरपोर्ट बनाउने भन्दै सुरुमा ६ विघा जग्गा स्थानीय बासिन्दाबाट खरिद गरेको थियो ।

तत्कालीन समयमा आङछिरिङ शेर्पा अध्यक्ष रहेको यति इन्कर्पोरेट प्रालिले स्थानीय २९ जना स्थानीय जग्गाधनीबाट प्रतिकट्ठा २८ हजार रुपैयादेखि ३२ हजार रुपैयाँमा ६ बिगाह जग्गा खरिद गरेको थियो ।

एयरपोर्ट नबनेमा जतिमा खरिद गरेको सोही मूल्यमा फिर्ता गर्ने सामाजिक करार सम्झौता समेत गरिएको थियो । यतिले एयरपोर्टको बनाउने भनेर जग्गा खरिद गरेपछि हौसिएर तत्कालीन धरान नगरपालिकाले पनि आफ्नो स्वामित्वमा रहेको ७ विगा जग्गा यतिलाई भनेर सहमती जनाएको थियो ।

उक्त करार अनुसार यतिले विमानस्थल बनाउन नसकेमा पूरानै मुल्यमा जग्गाधनीहरुलाई जग्गा फिर्ता गर्नुपर्ने सहमती भएपनि यतिलाई विमान स्थल बनाउन नदिएपछि मेयर हर्कराज साम्पाङको कार्यकाल सम्म लम्बिएको थियो ।

हर्कराजले पनि एयरपोर्ट बनाउने भनेर प्रयासरत थिए । तर नागरिक उड्यन प्राधिकरणले औपचारिक रुपमै धरानको डाडाघोपामा एयरपोर्ट बनाउनु अनुपयुक्त हुने भन्दै ‘च्याप्टर क्लोज’ गरिदिएको थियो । पछिल्लो समयमा सुदन किराती पर्यटन मन्त्री हुँदा नागरिक उड्ययन प्राधिकरणले पुनः सम्भाव्यता अध्ययन गरेको थियो ।

सम्भाव्यता अध्ययनको रिपोर्ट सार्वजनिक गर्दै प्राधिकरणले प्राविधिकरुपमा धरानको डाँडाघोपामा एयरपोर्ट बनाउन नसकिने प्रष्ट पारेपनि तत्कालिन मेयर राईले डाँडाघोपाको रोक्का भएको जग्गा फुकुवा गर्न आनाकानी गर्दै आएका थिए ।

तत्कालीन मेयर राईले भने धरान एयर पोर्ट निर्माण गरेरै छाड्ने प्रतिबद्धता गर्दै आएका थिए ।

एयरपोर्टकै विषयमा मेयर हर्कराजले तत्कालीन पर्यटन मन्त्री किरातीले असहयोग गरेको भन्दै ‘विवाद’ चर्काएका थिए । डाँडाघोपामा यतिले आफ्नै खर्चमा सर्वे गरेको थियो भने पछिल्लो पटक धरान एयर पोर्ट निर्माण गर्ने बहानामा प्राधिकरणले तीन पटक स्थलगत सर्वे गरेर करिब ११ करोड रुपैयाँ खर्च समेत गरिसकेको थियो ।

सम्बन्धित खबर