
झापा । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलन अन्तर्राष्ट्रिय विशेषज्ञहरु समेतको सहभागितामा झापामा गरिने भएको छ ।
यही फागुन १ गतेदेखि धुलाबारीस्थित होटल मेची क्राउनमा सम्मेलन आयोजना गरिएको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
सो अवसरमा विदेशका १०० भन्दा बढी वरिष्ठ चिकित्सकहरु र नेपालका प्रोफेसरहरु४०० भन्दा बढी हाडजोर्नी विशेषज्ञ डाक्टरहरू गरी ५०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।
हाडजोर्नी विशेषज्ञ डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलन झापामा गराउन पाउनुले झापाबासी अत्यन्त उत्साहित, गौरवान्वित एवम् खुसी महसुस गरिरहेका छौं भन्दै महासचिव डा. रुपेशजंग बेलबासेले कार्यक्रमबारे अवगत गराउनु भएको थियो ।

उक्त सम्मेलनमा भारत, चीन, बंगालादेश, वेलायत, हङकङ, अष्ट्रेलिया लगायत देशहरुबाट विशेषज्ञ डाक्टरहरुको सहभागिता रहने डा. बेलबासेले बताउनु भयो ।
माघ २९ गते भोलि बिर्तामोडका तीनवटा अस्पतालहरुमा ट्रेनी डाक्टरहरु एवम् विद्यार्थीहरुको सहभागितामा हाडजोर्नीका समस्याहरुका बारेमा विषयगत छलफल एवम् बिरामीहरुको परीक्षण गराइने आयोजक समितिका सहअध्यक्ष डा. निराजन पराजुलीले जानकारी दिनुभयो ।
प्रिकन्फरेन्स वर्कसपमा प्रिएक्जाम प्रक्टिस, एक्स रे, एमआरआई, सिटीस्क्यानका रिपोर्ट परीक्षणजस्ता विषयमा सहजीकरण गरिने डा. पराजुलीको भनाई छ ।

बिर्तामोडका बिएण्डसी, स्पाइन एक्स र बिर्तासिटी हस्पिटलमा उपचाररत बिरामीहरुको परीक्षण सहित हाडजोर्नीका विभिन्न समस्याहरु कसरी समाधान गरिँदैछ भन्ने विषयमा सहभागी देशभरका प्रशिक्षार्थी चिकित्सकहरुलाई प्रयोगात्मक पद्धतिबाट प्रशिक्षण गराइने डा. प्रेम शाहीले बताउनु भयो ।
माघ २९ गते बिर्तामोडमा प्रीकन्फरेन्स वर्कसप सञ्चालन पछि फागुन १, २ र ३ गते होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष डा. मैनालीले बताउनु भयो ।
यस कार्यक्रम आयोजना गर्नका लागि करिब १ करोड ५० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको तथा कोशी प्रदेश सरकारबाट पर्यटन प्रवर्धनका लागि ५ लाख रुपैयाँ प्राप्त हुने प्रतिबद्धता आएको छ पनि डा. मैनालीले बताउनु भयो ।

कोशी प्रदेशको झापा जिल्लामा नै पहिलोपटक आयोजना गरिएको अर्थोकोन २०२६ को सञ्चालनका लागि स्थानीय सङ्घ संस्था एवं व्यक्तिहरूले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकको भनाई छ ।
नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समितिका महासचिव नागमनि सिंहले ३१औं वार्षिक सभाको नारा एडुकेशन, कोलाबोरेशन र इन्नोभेशन रहेको अवगत गराउँदै नेपालमा नै बनाइएका विश्वस्तरको गुणस्तरीय प्रविधिलाई नेपालको प्रयोगमा ल्याउन मद्धत गर्ने लक्ष्य राखिएको जनाउनु भयो ।


